काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हार्ट अट्याक भएपछि आकस्मिक रूपमा एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ। मुटुसम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगिएको थियो।
पाटन अस्पतालका मुटुरोग विभाग प्रमुख डा. अशोक अधिकारीका अनुसार बिहीबार बिहान छातीमा तीव्र दुखाइ भएपछि शाक्यलाई अस्पताल ल्याइएको थियो। आवश्यक परीक्षणका क्रममा उनलाई हार्ट अट्याक (एक्युट मायोकार्डियल इन्फार्क्सन) भएको पुष्टि भएपछि तत्काल एन्जियोप्लास्टी गरिएको हो।
अस्पतालका अनुसार शल्यक्रिया डा. अशोक अधिकारी, डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीको विशेषज्ञ टोलीले सफलतापूर्वक सम्पन्न गरेको हो।
शल्यक्रियापछि पूर्वउपाध्यक्षसमेत रहेकी शाक्यलाई हाल सघन उपचार कक्ष (आईसीयू) मा राखेर चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी भइरहेको र आवश्यक उपचार जारी रहेको बताइएको छ।
अष्टलक्ष्मी शाक्य नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय नेतृ हुन्। उनी वाग्मती प्रदेशको पहिलो महिला मुख्यमन्त्रीसमेत बनेकी थिइन्। साथै नेकपा (एमाले) को पूर्वउपाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी छन्।
उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि राजनीतिक वृत्तमा चासो बढेको छ। एमालेका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।



































