भक्तपुर । बागमती नदीको बहाव बढेर कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गको होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित भएका सुकुम्बासी परिवारको स्वास्थ्य परीक्षण गरिएको छ।
डुबानपछि खरिपाटी र बोडेमा स्थानान्तरण गरिएका पीडितहरूको अवस्था बुझ्न बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको पहलमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल टोली परिचालन गरेको हो।
स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका बिरामीलाई अस्पतालमा ल्याएर आवश्यक उपचार गराइने मन्त्रालयले जनाएको छ।
मन्त्री थापा मगरले विपद्को समयमा पीडितको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै सम्बन्धित निकायलाई आवश्यक स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन निर्देशन दिएका छन्।
मनसुनका कारण हरेक वर्ष नदी किनार र असुरक्षित बस्तीमा बसोबास गर्ने सुकुम्बासी समुदाय सबैभन्दा बढी प्रभावित हुने गरेको छ। यस वर्ष पनि डुबानका कारण उनीहरू पुनः विस्थापित हुन बाध्य भएका छन्।
यद्यपि, तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने पहल सकारात्मक भए पनि सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सुरक्षित पुनर्वास र स्थायी बासस्थान सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वित प्रयास आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।



































