काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाबीचको प्रतिस्पर्धा अब केवल निक्षेप संकलन, कर्जा विस्तार वा प्रविधिमै सीमित छैन। पछिल्ला वर्षहरूमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पनि बैंकहरूको प्रभावकारिता मापन गर्ने महत्वपूर्ण आधार बन्दै गएको छ। यसैक्रममा ग्लोबल आइएमई बैंकले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता र समुदाय सशक्तीकरणका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको हिस्सा बनाउने प्रयास गरेको छ।
बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर सञ्चालन हुने १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा गरेको थियो। ती कार्यक्रम स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण, वातावरण संरक्षण, जीविकोपार्जन, वित्तीय साक्षरता तथा सामाजिक समावेशिताजस्ता विविध क्षेत्रमा केन्द्रित छन्। बैंकका अनुसार यस्ता कार्यक्रमले आर्थिक विकाससँगै सामाजिक रूपान्तरणलाई पनि समान प्राथमिकतामा राख्ने उद्देश्य लिएका छन्।
स्वास्थ्य क्षेत्रमा बैंकले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका महिलालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर, स्त्रीरोग परीक्षण, पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण, औषधि वितरण तथा आवश्यक परे थप उपचारका लागि सहजीकरण गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई प्रत्यक्ष लाभ पुगेको बैंकको दाबी छ।
शिक्षा क्षेत्रमा पनि बैंकले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माण तथा आवश्यक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। शिक्षा क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन रूपमा दक्ष जनशक्ति उत्पादन र सामाजिक विकासमा योगदान पुग्ने विश्वास बैंकको छ।
वातावरण संरक्षणलाई पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा अघि सारेको छ। वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सामुदायिक सहभागिता बढाउने प्रयास गरिएको बैंकले जनाएको छ।
त्यस्तै, डिजिटल बैंकिङको प्रयोग तीव्र रूपमा बढिरहेका बेला वित्तीय साक्षरतालाई पनि बैंकले प्राथमिकतामा राखेको छ। विभिन्न समुदाय, विद्यालय तथा युवालाई लक्षित गरी बचतको महत्व, जिम्मेवार ऋण प्रयोग, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा वित्तीय ठगीबाट बच्ने उपायबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकको देशव्यापी शाखा सञ्जाललाई सामाजिक उत्तरदायित्वका कार्यक्रमसँग जोडेर स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक संगठनसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ।
बैंकका अनुसार आर्थिक समृद्धि र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै समुदायको वास्तविक आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्नु नै संस्थागत सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्य हो। आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता र समुदाय सशक्तीकरणका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रमलाई निरन्तरता दिने बैंकले जनाएको छ।



































