काठमाडौं । नागार्जुन नगरपालिका–६ स्थित फस्कू खुल्ला व्यायामशाला तथा पार्क संरक्षण समितिको आयोजनामा निर्माण गरिएको खुल्ला व्यायामशालाको उद्घाटन गरिएको छ।
नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले व्यायामशालामा स्वयं व्यायाम गर्दै यसको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख अधिकारीले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै खुल्ला व्यायामशालाजस्ता सार्वजनिक पूर्वाधारले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने बताउनुभयो। उहाँले २०७४ सालदेखि जनप्रतिनिधिका रूपमा नगरवासीको हितलाई केन्द्रमा राखेर पूर्वाधार विकास, सेवा प्रवाह र जनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।
उहाँले आगामी दिनमा नगर प्रहरीको संख्या वृद्धि, दमकल सेवा विस्तारलगायत नागरिकको आवश्यकताअनुसारका सेवा थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिँदै जनताको साथ, सहयोग र विश्वासले विकासका लक्ष्य पूरा गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
वडा नं. ६ का अध्यक्ष देवेन्द्रराज गिरीले व्यायामशालाको निर्माणले विशेषगरी युवा र ज्येष्ठ नागरिकलाई नियमित व्यायामका लागि सहज वातावरण उपलब्ध गराएको बताउनुभयो। उहाँले सार्वजनिक सम्पत्तिको संरक्षण र दिगो व्यवस्थापनमा स्थानीय समुदायको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो।
बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवराज कार्कीले स्वस्थ जीवनका लागि स्वच्छ वातावरण, सुरक्षित खानेपानी र नियमित व्यायाम एकअर्काका परिपूरक पक्ष भएको बताउँदै सामुदायिक पूर्वाधारको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमका सभापति तथा फस्कू खुल्ला व्यायामशाला तथा पार्क संरक्षण समितिका अध्यक्ष सुरेन्द्र भुजेलले व्यायामशाला तथा पार्क निर्माणमा सहयोग पुर्याउने सबै व्यक्ति, निकाय र स्थानीयवासीप्रति आभार व्यक्त गर्दै यसको संरक्षण, सरसफाइ र प्रभावकारी व्यवस्थापनमा समुदायको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै उहाँले व्यायामशालाको जिम्मेवारीपूर्वक उपयोग गर्दै दीर्घकालीन संरक्षणमा सबैलाई योगदान गर्न आग्रह गर्नुभयो।


































