काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न गरिएको छ । टोखास्थित सपनतीर्थमा असार ७ गते सम्पन्न वनभोजमा महानगरका ३२ वटै वडाका एमाले कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा एमालेकी पोलिटव्यूरो सदस्य सुजिता शाक्यले एकअर्कामा नजिकबाट चिनजान होस् र औपचारिक रुपमा छलफलको सुरुवात होस भनेर वनभोजको आयोजना गरिएको बताइन् । पार्टीको संगठित सदस्य र नयाँ सदस्य विस्तार गर्नका लागि यस्ता कार्यक्रम फलदायी हुने उनको बुझाई छ । पार्टीका बारेमा भइरहेका भ्रम चिर्नका लागि पनि यस्त अनौपचारिक कार्यक्रम आवश्यक रहेको शाक्यको भनाइ छ ।
सपनतीर्थ उत्कृष्ट र अकार्षक पर्यटकीय स्थल भएको भन्दै शाक्ले प्रकृतिसँग नजिक हुन पाउँदा सबै खुशी भएको तथा सकारात्मक उर्जा प्रदान गरेको बताइन् । वनभोजले सबै कार्यकर्तालाई एकाकार बनाउन मद्धत पुगेको शाक्य बताउँछिन् ।
एमालेका पुराना कार्यकर्ता कुमार गुरुङले विगतको संघर्ष स्मरण गरे । मदन भण्डारीका पालामा अन्य दलका कार्यकर्तासँग विवाद हुँदा अग्रपंक्तिमा रहेर लडेका गुरुङ त्यसबेला घाइते भएपछि अस्वस्थ अवस्थामा थिए । लामो समयपछि वनभोजमा सहभागि भएका उनले त्यसबेलाको अनुभव सुनाएका थिए । अस्कल क्याम्पस अनेरास्ववियूका पूर्वअध्यक्षसमेत रहेका गुरुङमा अहिले पनि एमालेप्रति लगाब देखिन्थ्यो ।
महानगर कमिटीका सचिव धनबहादुर तिमिलाले सपनतीर्थको महत्वबारे जानकारी दिएका थिए । नेवार समुदायको ऐतिहासिक नगरी टोखाको वर्णन गर्दै उनले धार्मिक र सांस्कृतिक पहिचानबारे स्पष्ट पारेका थिए ।
कार्यक्रममा विभिन्न सांगितिक तथा मनोरञ्जनात्मक गतिविधि गरिएको थियो । नाँचगानले वनभोजलाई रमाइलो बनाएको थियो ।
कार्यक्रमबारे जानकारी दिदै महानगर कमिटी उपसचिव सृजना भेटवालले एकआपसमा सम्बन्ध सुधार र आत्मियता बढाउनका लागि वनभोज गरिएको बताइन् । विभिन्न कारणले मनमुटाव भए पनि अब ऐक्यबद्धता भएर अघि बढ्नका लागि वनभोज कार्यक्रम फलदायी हुने उनको विश्वास छ ।
कार्यक्रममा केन्द्रीय सदस्य रत्न गुरुङ, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य, राजधानी प्रदेश अध्यक्ष नारायण सिलवाललगायतको उपस्थिती रहेको थियो । महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठले पाटीका कार्यकर्ताबीच आत्मियता बढोस् भनेर वनभोज कार्यक्रम गरिएको जानकारी दिए ।




































