काठमाडौं । नागार्जुन नगरपालिका–६ इचाडोलस्थित श्री पचली भैरव मन्दिर व्यवस्थापन तथा सामुदायिक भवन समितिले सञ्चालन गरेको धिमे बाजा एडभान्स तालिम सम्पन्न भएको छ।
जेठ ३ गतेदेखि असार ७ गतेसम्म सञ्चालन भएको तालिमको समापन भव्य कार्यक्रमका बीच गरिएको हो। कार्यक्रममा समितिका संयोजक केशव श्रेष्ठ, गुठीका थकाली प्रेमबहादुर श्रेष्ठ, वडा सदस्यहरू मुकुन्दबहादुर सुवेदी र सिरता खड्का, वरिष्ठ धिमे गुरु सूर्यनारायण महर्जन, प्रमुख प्रशिक्षक सुन्दर श्रेष्ठ, प्रशिक्षक सुनिल महर्जन तथा प्रशिक्षार्थीलगायत करिब १२० जनाको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा वडा सदस्य मुकुन्दबहादुर सुवेदीले संस्कृति संरक्षण र पुस्तान्तरणका लागि समितिले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरूमा आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। यस्तै, नेवाः देय् दबू जामाःच्व नगर समितिका अध्यक्ष अजित पुतुवारले नेवाः संस्कृतिको संरक्षणमा सहकार्य गर्न आफूहरू तयार रहेको बताउँदै प्रशिक्षार्थीहरूलाई बधाई दिएका थिए। उनले संस्कृति संरक्षणमा युवाको सक्रिय सहभागिता र पुस्तान्तरणको प्रयासको प्रशंसा समेत गरे।
तालिम समापनका अवसरमा प्रशिक्षार्थी टोलीले ईचङ्गुनारायणस्थित नास द्यः तथा इचाडोलस्थित पचली भैरव मन्दिर परिसरमा धिमे बाजासहित परिक्रमा गरेका थिए।
तालिममा २८ जना प्रशिक्षार्थी सहभागी भएका थिए। समितिले गत वर्ष पनि पाहाँचह्रे अन्तर्गत घोडेजात्राको अवसरमा सञ्चालन हुने श्री पचली भैरव रथयात्रालाई प्रभावकारी बनाउन सप्ताहव्यापी धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो। समितिले नेवाः संस्कृति संरक्षण र प्रवर्द्धनका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।



































