काठमाडौं । फेसन कला निर्देशक तथा शैली संयोजक सोन्या गुरुङले नेपाली कपडा र परम्परागत गहनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘माउन्टेन्स टु द मेट अध्याय एक’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकी छन् ।
सोन्या स्टाइल क्रियटिभ फेसन टिम नेपालकी प्रमुख कार्यकारी अधिकृत गुरुङले हङकङस्थित हाइभ स्टुडियोसँगको सहकार्यमा आयोजना गरेको उक्त परियोजनामार्फत नेपाली मौलिक पहिरन, कपडा तथा गहनालाई सिर्जनात्मक फेसन कला र दृश्य कथावाचनमार्फत अन्तर्राष्ट्रिय मोडलहरूको सहभागितासहित प्रस्तुत गरिएको हो ।
परियोजनाको अवधारणाअनुसार नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने उद्देश्यले विभिन्न देशका मोडलहरूलाई सहभागी गराइएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कला, संस्कृति र फेसनलाई आधुनिक प्रस्तुतिसँग जोड्दै विशेष फेसन प्रदर्शन गरिएको थियो ।
यसअन्तर्गत आयोजित ‘भेटघाट’ कार्यक्रममा विभिन्न क्षेत्रका नेपाली व्यक्तित्व, समाजसेवी, कला तथा फेसन क्षेत्रका अगुवा र आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फेसन कला प्रस्तुतिको विशेष झलक समेत प्रदर्शन गरिएको थियो ।
सृजनात्मक फेसन कथावाचनका लागि परिचित सोन्या गुरुङले लामो समयदेखि फेसन शो, सांस्कृतिक प्रस्तुति तथा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । उनका कार्यक्रमहरू परम्परागत फेसन प्रस्तुतिभन्दा फरक शैली, कलात्मक संयोजन र सांस्कृतिक अभिव्यक्तिका कारण चर्चित छन् ।
गुरुङले आफ्ना कार्यक्रममार्फत ओझेलमा परेका तथा कम अवसर पाएका प्रतिभाहरूलाई प्राथमिकतामा राख्दै उनीहरूको क्षमता उजागर गर्ने प्रयास गर्दै आएको बताइन् । लोकप्रिय अनुहारभन्दा प्रतिभा र दृष्टिकोणलाई प्राथमिकता दिने उनको अभियानलाई हङकङका विभिन्न प्रतिष्ठित समूहले समेत समर्थन गरेका छन् ।
यस परियोजनामा नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्धन साझेदार तथा नेपाल वायुसेवा निगम हवाई साझेदारका रूपमा आबद्ध रहेका थिए । आयोजकका अनुसार यस सहकार्यले नेपाली संस्कृति, सिर्जनशीलता र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने साझा उद्देश्यलाई थप मजबुत बनाएको छ ।
‘माउन्टेन्स टु द मेट’ अभियानमार्फत सोन्या स्टाइलले नेपाली फेसन, कपडा, गहना तथा सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।






























