काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको जनाएको छ ।
सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा सीमित रहने अनुमान गरिएका बेला नेपालको वृद्धिदर सकारात्मक रहने सरकारको दाबी छ ।
सर्वेक्षणमा अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने तथा प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
प्रदेशगत रूपमा बागमती प्रदेश र गण्डकी प्रदेश को आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको छ भने अन्य प्रदेशहरूको वृद्धिदर औसतभन्दा कम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत तथा गैर–कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
सर्वेक्षणअनुसार आर्थिक गतिविधिमा बागमती प्रदेश को प्रभाव कायम रहँदै कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान रहने उल्लेख गरिएको छ ।
यद्यपि कृषि क्षेत्रमा चुनौती कायमै रहेको देखिएको छ । धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणमा उल्लेख छ ।
राजस्व र सरकारी खर्चतर्फ संघीय राजस्व फागुनसम्म ३.२ प्रतिशतले वृद्धि भएको छ भने सरकारी खर्च १०.४ प्रतिशतले बढेको छ । तर पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसकेको सर्वेक्षणले देखाएको छ ।
सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो । चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको उल्लेख गरिएको छ ।
बाह्य क्षेत्रका सूचकहरू भने तुलनात्मक रूपमा मजबुत देखिएका छन् । विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्ने बताइएको छ ।
तर व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ, जसलाई अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ ।
प्रविधिमैत्री भुक्तानी प्रणालीतर्फ पनि उल्लेख्य विस्तार भएको सर्वेक्षणले देखाएको छ । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको उल्लेख गरिएको छ ।
समग्रमा आर्थिक सर्वेक्षणले बाह्य क्षेत्र र समष्टिगत सूचकहरूमा सुधार देखिए पनि आन्तरिक उत्पादन, लगानी तथा व्यापार सन्तुलनका चुनौती अझै कायम रहेको संकेत गरेको छ ।






























