काठमाडौं । हर्क साम्पाङ ले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै आफूलाई बैठकबाट निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गर्दै सदनलाई जवाफदेही बनाउन आवश्यक रहेको बताए ।
साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५(२) अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफ दिन बाध्य बनाउन सभामुखसँग माग गरे ।
उनले भने, “धेरै दिनदेखि हामीले प्रधानमन्त्रीज्यूको उपस्थिती माग गर्दै आइरहेका छौं । नियम १५ को २ अनुसार सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन । त्यसैले आजको सदनमा मेरो माग के छ भने, यहाँले १५ को २ अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ को १ लागू गरेर मलाई यो सदनबाट निष्कासन गरिदिनुहोस् ।”
साम्पाङले सदनको गरिमा कायम हुन नसकेको टिप्पणी गर्दै आफू संसदमा ‘बदमास विद्यार्थी’ जस्तो देखिन थालेको समेत बताए ।
उनले भने, “कि त १५ को २ प्रयोग गरेर प्रधानमन्त्रीज्यूलाई ल्याउनुपर्यो, कि त ३१ को १ प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश दिनुपर्यो । म आज रिसाउने, कराउने वाला पनि छैन । यहाँको मजबुरी बुझिरहेको छु, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन । म अलिकति बदमास विद्यार्थी जस्तो देखा पनि परिरहेको छु संसदमा ।”
साम्पाङले सभामुखको बाध्यता बुझ्ने उल्लेख गर्दै पनि प्रधानमन्त्रीको उपस्थिती र संसदप्रति जवाफदेहिता लोकतान्त्रिक अभ्यासका लागि आवश्यक रहेको धारणा राखे ।






























