प्रेस स्वतन्त्रता कुण्ठित हुने खतरा बढ्दो : महासंघ अध्यक्ष निर्मला शर्मा

प्रेस स्वतन्त्रता कुण्ठित हुने खतरा बढ्दो : महासंघ अध्यक्ष निर्मला शर्मा

काठमाडौं । नेपाल पत्रकार महासंघ की अध्यक्ष निर्मला शर्मा ले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

बुधबार नेपाल प्रेस युनियन को विधान सभालाई सम्बोधन गर्दै उनले सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्न खोजेको तथा सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने निर्णयले मिडियामाथि अंकुश लगाउने काम गरेको आरोप लगाइन् ।

उनले भनिन्, “अहिलेको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हो कि भनेर पत्रकार महासंघ सशंकित छ । वर्तमान सरकारले विज्ञापनमा एकाधिकार कायम गरेर सरकारी माध्यमलाई मात्र सूचना दिने भन्ने परिपत्र निर्णय गरेको छ । यो मिडियामाथि अंकुश लगाउने काम हो ।”

अध्यक्ष शर्माले पछिल्लो समय लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि दबाब बढ्दै गएको उल्लेख गर्दै पत्रकारहरू असुरक्षित महसुस गरिरहेको बताइन् ।

उनले भनिन्, “लोकतन्त्र र प्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि हामीले सत्तासँग तथा संगठित–असंगठित समूहसँग निरन्तर संघर्ष गर्दै आएका छौँ । विगत दुई महिनादेखि पत्रकारहरू असुरक्षित महसुस गरिरहेका छन् ।”

उनले पत्रकारहरूले विगतदेखि नै लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको स्मरण गराउँदै अहिलेको परिस्थिति २०६२/६३ जनआन्दोलन को झझल्को दिलाउने खालको रहेको टिप्पणी गरिन् ।

उनले भनिन्, “अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको दबाबले ६२/६३ को आन्दोलनको झझल्को महसुस गराएको छ । लोकतन्त्रमा विश्वास गर्ने दलहरूसँग संवाद गर्दा पहिले हाम्रो कुरा सुनिन्थ्यो, तर अहिले दुई तिहाइको दम्भ बोकेको सरकारले बोल्दा पनि नसुन्ने अवस्था देखिएको छ ।”

Tokha