काठमाडौं । बुढानीलकण्ठ नगरपालिका को आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा डिजिटल सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जनसंख्या तथा सामाजिक समावेशीकरण महाशाखाको संयोजनमा आयोजित कार्यक्रममा महिला, युवा, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई साइबर दुर्व्यवहार, अनलाइन उत्पीडन, सामाजिक सञ्जालको दुरुपयोग तथा डिजिटल माध्यमबाट हुने विभिन्न प्रकारका हिंसाबारे जानकारी गराइएको थियो । साथै सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत विवरणको सुरक्षा तथा अनलाइन ठगीबाट बच्ने उपायहरूबारे समेत विस्तृत प्रस्तुति गरिएको थियो ।
विज्ञहरूले पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत हुने लैङ्गिक हिंसाका घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनाबाट प्रभावित व्यक्तिहरूले समयमै कानुनी सहायता लिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले अनलाइन माध्यममा हुने हिंसा र दुर्व्यवहारलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै सचेतना नै यसको प्रभावकारी समाधानको आधार भएको बताएका थिए ।
कार्यक्रममा सहभागीहरूले डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक जानकारी उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । विशेषगरी महिला र युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो कार्यक्रमले सामाजिक सञ्जालको सुरक्षित प्रयोगप्रति सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ ।
जनसंख्या तथा सामाजिक समावेशीकरण महाशाखाले यस्ता कार्यक्रमले समुदायमा डिजिटल सुरक्षाप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै लैङ्गिक हिंसामुक्त समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।






























