सर्वोच्चमा असन्तुष्टि : सपना मल्लले मागिन् २० दिन बिदा, शपथ समारोहमै देखिइनन्

सर्वोच्चमा असन्तुष्टि : सपना मल्लले मागिन् २० दिन बिदा, शपथ समारोहमै देखिइनन्

काठमाडौं । नयाँ प्रधानन्यायाधीशका रूपमा डा मनोज शर्मा नियुक्त भएसँगै कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीबाट बाहिरिएकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिनको बिदा मागेकी छन् । उनले आजदेखि लागू हुने गरी बिदा स्वीकृतिका लागि निवेदन दिएकी हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश बन्ने वरिष्ठतागत अपेक्षामा रहेकी मल्ल संवैधानिक परिषद्ले आफूभन्दा जुनियर रहेका डा. शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि असन्तुष्ट बनेकी थिइन् । यद्यपि उनले तत्काल राजीनामा दिने मनस्थिति भने नबनाएको बताइएको छ ।

प्रधानसँगै वरिष्ठतामा डा. शर्माभन्दा अगाडि रहेका न्यायाधीश कुमार रेग्मी र हरि फुयाँलले पनि राजीनामा नदिने सम्भावना रहेको स्रोतको भनाइ छ ।

मंगलबार सम्पन्न नयाँ प्रधानन्यायाधीशको शपथ ग्रहण समारोहमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी मल्ल अनुपस्थित रहिन् । संसदीय सुनुवाइ समितिबाट डा. शर्माको नाम अनुमोदन भएलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएको स्रोतले जनाएको छ ।

त्यसैगरी राति सर्वोच्च अदालतमा आयोजित पदभार ग्रहण कार्यक्रममा पनि मल्ल सहभागी नभएको बताइएको छ । तर न्यायाधीश रेग्मी र फुयाँल भने नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्न तथा पदभार ग्रहण कार्यक्रममा सहभागी भएका थिए । उनीहरू दुवैको बुधबारका लागि इजलाससमेत तोकिएको छ ।

मल्लले दिएको बिदा निवेदन भने हालसम्म स्वीकृत भएको छैन । अब उक्त निवेदनबारे निर्णय गर्ने अधिकार नवनियुक्त प्रधानन्यायाधीश डा. शर्मासँग रहनेछ ।

प्रधानन्यायाधीश नियुक्तिलाई लिएर न्यायपालिकाभित्र देखिएको असन्तुष्टि र वरिष्ठताको बहसले सर्वोच्च अदालतको आन्तरिक अवस्था थप चर्चाको विषय बनेको छ ।

Tokha