सांसद कृष्णकुमार कार्कीको प्रकरणमा सत्यतथ्य छानबिन गर्न आशिका तामाङको माग

सांसद कृष्णकुमार कार्कीको प्रकरणमा सत्यतथ्य छानबिन गर्न आशिका तामाङको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की माथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप लागिरहेका बेला पार्टीभित्रैबाट छानबिनको माग उठेको छ ।

रास्वपाकी सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत घटनाबारे गम्भीर अनुसन्धान हुनुपर्ने धारणा सार्वजनिक गरेकी हुन् ।

उनले महिलाको अस्मिता र मातृत्वसँग जोडिएको विषय भएकाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उल्लेख गरेकी छन् । आफ्नो फेसबुक स्टाटसमार्फत तामाङले लेखेकी छन्, ‘महिला चाहे स्वदेशी होस् वा विदेशी, आखिर उनी आमा हुन् । देखिएका सबै कुरा सत्य नहुन सक्छन्, तर सत्यजस्तै गरी बाहिर आएका विषयमाथि अनुसन्धान भने हुनैपर्छ ।’

आफ्नै दलका सांसदविरुद्ध प्रश्न उठेका बेला उनले न्याय र सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् । ‘पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो संसार हो । कसैमाथि अन्याय हुनुहुँदैन । यदि कसैले गलत गरेको छ भने त्यो आफ्नै घरको सदस्य किन नहोस्, गलतलाई गलत भन्न सक्नुपर्छ,’ उनले उल्लेख गरेकी छन् ।

पछिल्लो समय एक नाइजेरियन युवतीले सांसद कार्कीसँग आफ्नो सम्बन्ध रहेको तथा आफू गर्भवती भएपछि उनले बेवास्ता गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो र केही प्रमाण सार्वजनिक गरेकी छन् । उक्त विषय सार्वजनिक भएसँगै सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ ।

Tokha