हामी पुराना दलजस्ता होइनौं, हामी फरक राजनीति गर्छौं भन्दै जनतामाझ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्नै सांसदको गम्भीर व्यक्तिगत र नैतिक विवादका कारण कठघरामा उभिएको छ । मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्की माथि नाइजेरियाकी २६ वर्षीया युवती रिता अजुकोलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेपछि राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म तरंग पैदा भएको छ ।
घटनाको सबैभन्दा संवेदनशील पक्ष के हो भने—यो आरोप कुनै सामान्य सम्बन्ध विच्छेदको कथा मात्र होइन । यो एउटा विदेशी महिलालाई प्रेम, भरोसा र भावनात्मक दबाबको जालमा पारिएको कथासँग जोडिएको छ । आरोपअनुसार अजुको र कार्की लामो समय ‘लिभिङ रिलेसन’ मा थिए । काठमाडौंको ठमेल क्षेत्रमा सँगै बस्दै आएका उनीहरूबीचको सम्बन्ध सामान्य चिनजानभन्दा धेरै अगाडि बढिसकेको थियो । सार्वजनिक भएका च्याट, तस्बिर र भिडियोहरूले उनीहरूको सम्बन्धको निकटता प्रष्ट देखाउँछन् ।
कार्कीले अजुकोलाई माई वाइफ, माई लाइफ, माई लभ भन्दै प्रेम व्यक्त गरेका सन्देश अहिले सामाजिक सञ्जालमा भाइरल छन् । कतिपय भिडियोमा उनले अजुकोलाई ढाडमा बोकेर हिँडेको, ड्राइभिङ सिकाएको र अत्यन्त आत्मीय व्यवहार गरेको देखिन्छ । यति मात्र होइन, अस्पतालमा गरिएको गर्भ परीक्षण कागजातमा श्रीमान्को नाममा “कृष्ण कार्की” लेखिएको विवरणसमेत सार्वजनिक भएको छ ।
तर, कथाले मोड त्यतिबेला लियो, जब अजुको गर्भवती भइन् । सुरुमा गर्भपतन गर्न चाहेको उनले बताएकी छन् । तर, आरोप अनुसार कार्कीले मलाई रुन मन लाग्छ, यस्तो कुरा नगर, म बुवा बन्न पाउँदा खुसी छु भन्दै भावनात्मक दबाब सिर्जना गरेर गर्भ नराख्नबाट रोके । ती म्यासेज अहिले सार्वजनिक प्रमाणका रूपमा चर्चामा छन् ।
तर जब गर्भ बढ्दै गयो, जिम्मेवारीको समय नजिकिँदै गयो, त्यही व्यक्तिको व्यवहार बदलियो । फोन उठ्न छाडे । म्यासेजको जवाफ आउन बन्द भयो । भेटघाट रोकियो । अन्ततः अजुको एक्लिइन्—विदेशी भूमिमा, गर्भवती अवस्थामा, आर्थिक अभावसँग जुध्दै ।
क्षेत्रपाटीस्थित फ्रि क्लिनिकमा उपचार गराइरहेकी उनले आफूलाई खानासम्मको समस्या भएको गुनासो गरेकी छन् । पहिले बच्चा राख भन्नुभयो, अहिले सम्पर्कविहीन हुनुभयो, उनको पीडा छ । डेलिभरीको समय नजिकिँदै गर्दा उनी आफ्नै सन्तान कसरी हुर्काउने भन्ने चिन्ताले त्रसित छिन् ।
यो विषय बाहिरिएपछि संसदसम्म तरंग फैलियो । प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्याल ले आकस्मिक समयमा बोल्न सांसद कार्कीको नाम तीन पटकसम्म उच्चारण गरे । तर उनी संसदमा उपस्थित भएनन् । उनको अनुपस्थितिले झन् आशंका र आलोचना बढायो ।
प्रतिनिधिसभामा सांसद निनुकुमारी कर्ण ले एक विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारिएको भन्दै सरकारसँग जवाफ माग गरिन् । उनले प्रश्न गरिन्—एउटा विदेशी महिलालाई प्रेमजालमा पारेर भावनात्मक ब्ल्याकमेल गर्ने व्यक्तिले आफ्नै देशका महिलालाई कसरी सम्मान गर्न सक्छ ?
त्यसैगरी पार्वती विकले पनि सदनमा यो विषय उठाउँदै सत्यतथ्य सार्वजनिक गर्न माग गरिन् । सत्तापक्षका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र छ, उनले भनिन्, यदि घटना सत्य हो भने कारबाही हुनुपर्छ ।
घटनाले रास्वपाको नैतिक राजनीतिमाथि नै प्रश्न उठाएको छ । किनकि यही पार्टीले विगतमा पुराना दलका नेता–कार्यकर्ताको चरित्र, भ्रष्टाचार र अनैतिक गतिविधिमाथि चर्को प्रहार गर्दै आफूलाई ‘नयाँ शक्ति’ का रूपमा प्रस्तुत गरेको थियो । तर अहिले आफ्नै सांसदमाथि लागेको आरोपले त्यो छविमा गम्भीर धक्का पुगेको टिप्पणी भइरहेको छ ।
कार्कीको विगत पनि विवादरहित छैन । उनी जेनजी आन्दोलनका क्रममा सिंहदरबार अगाडि अर्धनग्न प्रदर्शन गरेको, सुरक्षाकर्मीको हतियार खोस्न खोजेको तथा सिंहदरबार आगजनी प्रयासमा संलग्न रहेको आरोपमा पहिल्यै चर्चामा आएका थिए । सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिर र भिडियोहरूले उनको आक्रामक शैली देखाएको थियो ।
यति मात्र होइन, उनी एक समय गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ समूहसँग नजिक रहेको आरोपसमेत लाग्ने गरेको छ । चरी प्रहरी इन्काउन्टरमा मारिएपछि कार्की जापान गएको र लामो समयपछि नेपाल फर्किएको चर्चा पनि सार्वजनिक वृत्तमा रहँदै आएको छ ।
अहिले भने प्रश्न केवल एउटा प्रेम सम्बन्धको होइन । प्रश्न हो—जनप्रतिनिधिको नैतिकता, जिम्मेवारी र सार्वजनिक चरित्रको । संसद भवनमा जनताको प्रतिनिधित्व गर्ने व्यक्तिले व्यक्तिगत जीवनमा पनि त्यही जिम्मेवारी बोक्नुपर्छ कि पर्दैन ? विदेशी महिलालाई भरोसा दिलाएर गर्भ राख्न बाध्य बनाउने र पछि सम्पर्कविहीन हुने आरोप यदि सत्य हो भने त्यो केवल व्यक्तिगत कमजोरी होइन, नैतिक पतनको विषय बन्न सक्छ ।
झन् गम्भीर कुरा के भने, संसद चलिरहेको बेला रास्वपाले आफ्ना सांसदलाई होटल र स्टाफ कलेजमा ‘अनुशासन’ सिकाइरहेको समाचार आइरहेका छन् । तर आफ्नै सांसदमाथि यस्तो आरोप लाग्दा पार्टी नेतृत्व मौन देखिएको छ ।
जनताले प्रश्न गर्न थालेका छन्—“पुराना सबै खराब, हामी मात्रै ठीक” भन्नेहरू नै यति विवादमा मुछिन थालेपछि अब कसलाई विश्वास गर्ने ?
राजनीतिमा नयाँ अनुहार आउनु मात्रै परिवर्तन होइन । आचरण, जिम्मेवारी, नैतिकता र व्यवहार पनि नयाँ हुनुपर्छ । अन्यथा, पुराना अनुहार हटे पनि प्रवृत्ति उही रहन्छ ।






























