काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमालेंले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएकी थिइन् । कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
मदन भण्डारीकी श्रीमतीसमेत रहेका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् ।

स्मृति सभालाई सम्बोधन गर्दै मदनपत्नी समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन एमाले नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।
‘जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नुभएको समतामूलक,समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पुरा गर्न बाँकी छ’, पूर्वराष्ट्रपति भण्डारीको भनाई छ । भण्डारीले नेताद्धय भण्डारी र आश्रितप्रति सच्चा श्रद्धाञ्जली उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सकेमात्र हुने बताइन् ।

जनताको विश्वास नै कुनैपनि राजनीतिक शक्तिको सबैभन्दा ठुलो शक्ति भएको भन्दै भण्डारीले पार्टी र जनताबिच दुरी बढे राजनीतिक आन्दोलनको मर्म कमजोर हुने भएकाले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताइन् ।
‘राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले क्रियाशील हुनुपर्दछ’, पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।
मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना भयो । त्यसैगरी मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम गरिएको छ । नेकपा एमाले सम्पर्क विशेष संगठन कमिटिले बल्खुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।


जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।



































