धान खेतमा पहिलो पटक मखना खेती, झापामा नयाँ कृषि क्रान्ति

धान खेतमा पहिलो पटक मखना खेती, झापामा नयाँ कृषि क्रान्ति

भद्रपुर (झापा), १६ जेठः धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । परम्परागत धान र मकै खेती हुने खेतमा पानी जमाएर गरिएको यो अभ्यासले स्थानीयस्तरमा नयाँ कृषि प्रयोगको चर्चा बढाएको छ ।

कचनकवल गाउँपालिका–४ केचनाका ३९ वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर करिब २० बिघा क्षेत्रफलमा मखना खेती सुरु गर्नुभएको हो । नेपालमै पहिलो पटक ठूलो क्षेत्रफलमा गरिएको यस खेतीलाई झापाको कृषि क्षेत्रमा नयाँ मोडका रूपमा हेरिएको छ ।

राजवंशीले १० वर्षका लागि प्रतिविघा ३० मन धान बराबरको रकम अग्रिम भुक्तानी गरी जमिन भाडामा लिएर यो खेती सुरु गर्नुभएको हो ।

“भारतको सीमावर्ती क्षेत्रमा मखना खेती राम्रो आम्दानी दिने देखेपछि नेपालमा पनि सम्भावना परीक्षण गर्ने सोच आयो,” उहाँले भन्नुभयो, “जोखिम भए पनि ठूलो लगानीसहित सुरु गरेको हुँ ।”

मखना पानीमा फल्ने कमल प्रजातिको वनस्पति हो, जसको पात काँडाले ढाकिएको हुन्छ र बीच भागबाट फूल तथा फल लाग्छ । वैशाख अन्तिम सातादेखि फूल लाग्ने र साउन अन्तिम सातादेखि उत्पादन तयार हुने यस खेतीलाई लामो समय र धैर्य आवश्यक पर्ने कृषक राजवंशी बताउनुहुन्छ ।

“पुस महिनादेखि खेत खनजोत सुरु हुन्छ,” उहाँले भन्नुभयो, “मिहिन रूपमा खेत तयार गरी बलिया आली बनाइन्छ र निरन्तर पानी जमाइन्छ ।”

आठ महिनापछि मात्र उत्पादन दिने भएकाले यो खेतीलाई लगानी र धैर्य दुवै चाहिने खेतीका रूपमा लिइएको छ । हालसम्म बीउ र प्रविधि भारतबाट ल्याउँदा करिब रु १४ लाख खर्च भइसकेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार उत्पादन भारत निर्यात गर्न सकिए प्रतिविघा करिब रु तीन लाखसम्म नाफा लिन सकिने सम्भावना छ ।

तर नेपालमा व्यावसायिक मखना खेती नयाँ भएकाले बजार व्यवस्थापन र सरकारी नीतिगत स्पष्टता अझै आवश्यक रहेको उहाँको भनाइ छ ।

स्थानीयवासीका अनुसार अनौठो खेती भएकाले दैनिक धेरै किसान अवलोकन गर्न पुग्ने गरेका छन् । “धान खेतमा पानी जमाएर फरक प्रकारको खेती देख्दा सबैलाई उत्सुकता लागेको छ,” स्थानीय खुसी राजवंशीले भन्नुभयो ।

मखना धार्मिक तथा स्वास्थ्य दुवै दृष्टिले महत्वपूर्ण खाद्य पदार्थ मानिन्छ । हिन्दू धर्ममा प्रसादका रूपमा प्रयोग हुने यो वस्तु नेपालमा मुख्यतः भारतबाट आयात हुने गरेको छ ।

पोषणविद्का अनुसार मखनामा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम र भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।

स्वास्थ्यका दृष्टिले लाभदायक मानिने मखानालाई ‘सुपर फुड’ तथा ‘अर्गानिक खाद्य’ समेत भनिन्छ । रासायनिक मल तथा विषादी बिना उत्पादन गर्न सकिने भएकाले यसको माग भारतसहित अन्तर्राष्ट्रिय बजारमा बढ्दो रहेको बताइन्छ ।

कृषक राजवंशीले सरकारी सहयोगबिना आफ्नै लगानीमा बोरिङ जडान गरेर खेती गरिरहनुभएको छ । बजार सहज भए आगामी वर्षदेखि खेती विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

Tokha