बुढानीलकण्ठको सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोस्रो बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा रन्जित श्रेष्ठ प्रथम, गोपाल बि.के. द्वितीय तथा अमृत श्रेष्ठ र प्रतिक छेत्री संयुक्त रूपमा तृतीय भएका छन् । प्रथम हुने रन्जित श्रेष्ठले रु. १ लाख, द्वितीय हुने गोपाल बि.के.ले रु. ७५ हजार तथा तृतीय हुने अमृत श्रेष्ठ र प्रतिक छेत्रीले जनही रु. ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजेताहरूलाई पालि स्व रेष्टुरेन्टको तर्फबाट आकर्षक गिफ्ट भौचरसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला को उपस्थिति रहेको थियो ।
उपप्रमुख अनिता लामाले सम्पूर्ण प्रतियोगीलाई बधाई दिँदै यस्ता प्रतियोगिताले बुढानीलकण्ठको पहिचानलाई अझ फराकिलो बनाउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले भिडियो प्रतियोगिताले बुढानीलकण्ठको सांस्कृतिक विरासत, ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । साथै, यस्ता आयोजनाले स्थानीय युवामा सिर्जनशीलता र डिजिटल सामग्री निर्माणप्रति नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रभात कुमार रिमाल उपाध्याय, धिरज जंग शाह, चोपेन्द्र सागर पराजुली र सत्यराज जोशी रहेका थिए । निर्णायकहरूले भिडियो सामग्रीलाई रचनात्मकता, प्रस्तुतिकरण तथा सन्देशको प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेका थिए ।
आयोजकहरूले भविष्यमा यस्ता प्रतियोगितामार्फत बुढानीलकण्ठलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न तथा विदेशी पर्यटकलाई नेपालको यस अमूल्य सम्पदाप्रति आकर्षित गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।






























