बुढानीलकण्ठ नगरपालिकामा विशेष सांगीतिक कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ नगरपालिकामा विशेष सांगीतिक कार्यक्रम सम्पन्न

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा नेपाली मौलिक कला, संस्कृति तथा भाकाहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जन सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सातै प्रदेशका मौलिक सांगीतिक धुन तथा विभिन्न जातजाति र समुदायका सांस्कृतिक भाकाहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा लोक, मौलिक तथा आधुनिक गीतका धुनमार्फत कलाकारहरूले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । अन्तरा सांगीतिक समूहले नेपाली मौलिक बाजा र वाद्यवादनमार्फत विविध सांस्कृतिक प्रस्तुति दिएको थियो ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगरका कर्मचारी, जन सांस्कृतिक प्रतिष्ठान नेपालका पदाधिकारी, विभिन्न क्षेत्रका कलाकार तथा अन्तरा सांगीतिक समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नगर प्रमुख अधिकारीले नेपाली कला र संस्कृतिको संरक्षण आजको आवश्यकता भएको बताउँदै भाषा, कला र संस्कृति नेपाली समाजको पहिचानसँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई मौलिक संस्कृतिप्रति आकर्षित गर्ने विश्वास व्यक्त गर्दै स्थानीय तहले कला, साहित्य र संस्कृतिको जगेर्नामा निरन्तर सहयोग गर्ने बताउनुभयो ।

उपप्रमुख लामाले नेपाली मौलिक भाका र सांस्कृतिक धरोहर संरक्षणका लागि समुदाय, कलाकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र सांस्कृतिक पहिचानको भावना विकास गर्ने उल्लेख गर्नुभयो ।

“हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने नारासहित आयोजित कार्यक्रममा सहभागी कलाकार तथा अतिथिहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमभर नेपाली मौलिकपन झल्किने सांगीतिक प्रस्तुति र जीवन्त प्रदर्शनले नगर सभाहल सांस्कृतिक वातावरणले भरिएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले नेपाली मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

Tokha