काठमाडौं । यस वर्षको मनसुनका कारण देशभर दुई लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुनसक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसंख्या मनसुनजन्य विपद्बाट प्रभावित हुने आकलन गरिएको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट हालै पारित कार्ययोजनामा यस वर्षको मनसुन सन् २०१४, २०१६ र २०२२ को मनसुनसँग मिल्दोजुल्दो हुने उल्लेख गरिएको छ । कार्ययोजनाअनुसार बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढीजस्ता विपद्को जोखिम उच्च रहने देखिएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महत ले तीमध्ये एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्ष रूपमा गम्भीर प्रभावित हुनसक्ने बताइन् । उनका अनुसार प्रदेश र स्थानीय तहलाई पूर्वतयारीमा सहजीकरण गर्न प्रदेशगत जोखिम विश्लेषणका आधारमा कार्ययोजना बनाइएको हो ।
कार्ययोजनामा यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि हुनसक्ने उल्लेख छ । तापक्रम बढेसँगै उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिइएको छ ।
त्यसैगरी, अत्यधिक गर्मी तथा तातो हावाको लहर (लु) का कारण विशेषगरी तराई क्षेत्रमा जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग ले यसअघि सार्वजनिक गरेको मनसुन पूर्वानुमानअनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेशका पश्चिमी क्षेत्र तथा कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
प्राधिकरणले सोही पूर्वानुमानका आधारमा मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्धार तयारीलाई प्रभावकारी बनाउन राष्ट्रिय कार्ययोजना लागू गरेको जनाएको छ ।






























