सिन्धुपाल्चोकबाट ५६ लाखभन्दा बढीको भेप बरामद, सात जना पक्राउ

सिन्धुपाल्चोकबाट ५६ लाखभन्दा बढीको भेप बरामद, सात जना पक्राउ

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट प्रहरीले ठूलो परिमाणमा भेप बरामद गर्दै सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट करिब ५६ लाख ७० हजार रुपैयाँ बराबरका एक हजार ६२० थान भेप बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राई को नेतृत्वमा खटिएको टोलीले जेठ १ गते राति साढे ९ बजेतिर चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चीनबाट भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै अरनिको राजमार्गसँग जोडिने भित्री बाटो प्रयोग गरी लुकाइछिपाइ भेप नेपाल भित्र्याइँदै थियो । नौ वटा बोराले छोपेर कार्टुनभित्र राखिएको अवस्थामा भेप फेला परेपछि प्रहरीले सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास बिक, ४८ वर्षीय रामबहादुर बिक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन् ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको प्रहरीले जनाएको छ ।

यसैबीच, नेपाल–चीन सीमास्थित तातोपानी नाकामा पछिल्लो समय भन्सार निगरानी कडा बनाइएपछि सीमावर्ती क्षेत्रमा हुने झोलेपोके व्यापार प्रभावित भएको छ । तातोपानी भन्सार कार्यालयले मितेरीपुलस्थित यात्रु शाखाबाट खाद्य सामग्री तथा प्लान्ट क्वारेन्टाइन अनुमति नलिएका वस्तु भित्र्याउन रोक लगाएपछि स्थानीयको दैनिक किनमेल तथा सानो परिमाणको व्यापारसमेत ठप्प भएको बताइएको छ ।

Tokha