बेइजिङ । बिहीबार साँझ बेइजिङ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को सम्मानमा आयोजित राजकीय भोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ ले चीन र संयुक्त राज्य अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्ने बताएका छन्।
भोजलाई सम्बोधन गर्दै सीले चीनको “महान् कायाकल्प” र ट्रम्पको “मेक अमेरिका ग्रेट अगेन” अभियान सँगसँगै अघि बढ्न सक्ने उल्लेख गरे।
‘चीन र अमेरिका दुवै देशका जनता महान् छन्। चिनियाँ राष्ट्रको महान् कायाकल्प र “मेक अमेरिका ग्रेट अगेन” सँगसँगै अघि बढ्न सक्छ,’ उनले भने।
सीले दुई देशबीचको सम्बन्धलाई सफल बनाउनुपर्ने र कहिल्यै बिग्रन नदिनुपर्नेमा जोड दिए। उनका अनुसार चीन र अमेरिकाले सहयोगबाट लाभ पाउने तथा टकरावबाट दुवैले क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन्छ।
‘हाम्रा दुई देश प्रतिद्वन्द्वी होइनन्, साझेदार हुनुपर्छ। चीन–अमेरिका सम्बन्धको स्थिर, सुदृढ र दिगो विकासलाई प्रवर्द्धन गर्दै विश्वमा थप शान्ति, समृद्धि र प्रगति ल्याउन रणनीतिक स्थिरतामा आधारित रचनात्मक सम्बन्ध निर्माण गर्न हामी सहमत भएका छौं,’ सीले बताए।
डोनाल्ड ट्रम्प बुधबारदेखि शुक्रबारसम्म चीनको राजकीय भ्रमणमा रहेका छन्। राष्ट्रपति सी जिनपिङ ले सन् २०१७ नोभेम्बरमा बेइजिङमा ट्रम्पको स्वागत गरेपछि करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।






























