काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा तेस्रो राष्ट्रिय ‘ई स्पोर्ट्स’ प्रतियोगिता असारको पहिलो साता आयोजना हुने भएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको तेस्रो संस्करण असार ५ गतेदेखि सञ्चालन हुने जानकारी दिएको हो।
यस वर्षको प्रतियोगितामा Free Fire, PUBG Mobile र eFootball गरी तीन विधा समावेश गरिएको छ।
प्रतियोगिताका छनोट चरणका खेलहरू अनलाइनमार्फत सञ्चालन गरिनेछन् भने फाइनल खेल ‘ल्यान इभेन्ट’ को रूपमा आयोजना गरिने प्रतियोगिताका संयोजक तथा बोर्ड सदस्य प्रकाश घर्ति ले जानकारी दिए।
उनका अनुसार ई फुटबलमा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्न सकिनेछ भने फ्रि फायर र पब्जी मोबाइलमा टोलीगत रूपमा सहभागिता जनाउन सकिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टोलीहरूले ईशानको आधिकारिक वेबसाइटमार्फत दर्ता गर्न सक्ने जनाइएको छ। आयोजकका अनुसार यस संस्करणमा खेलाडी र टोली गरी पाँच हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।






























