काठमाडौँ, १ जेठः रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।
शीतल निवास मा शुक्रबार आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम राया ले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन ग्रहणपछि बोल्दै राष्ट्रपति रामचन्द्र पौडेल ले लामो समयदेखि सरकारी खर्चमा बेरुजु बढ्दै जानु सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर बन्दै गएको संकेत भएको बताए।
‘बेरुजु फर्छ्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्छु,’ उनले भने।
उनले अनियमित सरकारी खर्चलाई निरुत्साहित गर्दै आर्थिक अनुशासन कायम गर्न सके मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिप्रति युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलका अनुसार प्रतिवेदनमा उठाइएका विषयहरूले सम्बन्धित निकाय र सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बन्न प्रेरित गर्नेछन्।
‘सरकारी खर्च रकमको बढ्दो बेरुजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम राख्ने कार्यमा महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन सुदृढ गर्न कार्यालय अझ सक्रिय हुनुपर्छ।’






























