काठमाडौं वैशाख २९। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमार्फत खोज्नुपर्ने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले संसदमा सरकारको प्रस्तुति लोकतान्त्रिक अभ्यास र खुला बहसको संस्कृतिअनुकूल नभएको बताए।
“नसुनिने र संवेदनशीलताविहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहसशैलीअनुकूल देखिएन,” उनले भने, “सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि सुखद लागिरहेको छैन।”
उनले नेपाली कांग्रेस केवल ठूला गफ गर्ने तर परिणाम दिन नसक्ने राजनीतिक शैलीको समर्थक नभएको पनि स्पष्ट पारे। जनतासँग खुला रूपमा संवाद गर्नु लोकतान्त्रिक सरकार र नेतृत्वको प्रमुख दायित्व भएको उनको भनाइ थियो।
“जनतासँग खुलस्त बहस गर्नु एउटा लोकतान्त्रिक सरकार र नेताको प्राथमिक कर्तव्य हो,” उनले भने, “लोकतन्त्र बन्द कोठाको शासन होइन, यो खुला र सरल प्रक्रिया हो।”
नेता आङ्देम्बेले सरकारले लोकप्रियतावादी घोषणाहरू मात्रै गरिरहेको आरोप लगाउँदै आफ्ना जिम्मेवारीप्रति पर्याप्त गम्भीरता नदेखाएको धारणा पनि राखे।






























