काठमाडौं वैशाख २९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनका शहीद तथा घाइतेप्रति सरकारले अझै न्याय दिन नसकेको आरोप लगाएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा बलिदान दिएका नागरिकहरूको योगदान क्रमशः ओझेलमा पारिँदै गएको टिप्पणी गरिन्।
उनले आन्दोलनका क्रममा निर्दोष जनतामाथि गोली चलाउने दोषीहरूलाई कानुनी कठघरामा ल्याउन माग गर्दै शहीद परिवार र घाइतेहरूले अझै न्यायको अनुभूति गर्न नसकेको बताइन्।
“आज देश परिवर्तनको नयाँ चरणमा पुगेको छ,” उनले भनिन्, “तर जुन जेनजी आन्दोलनका शहीद र घाइतेको रगतमा टेकेर जनादेश आएको थियो, उनीहरूलाई हामी बिर्सिंदै गएका छौँ।”
सांसद खतिवडाले शहीद परिवार र घाइतेहरूको मनमा न्यायको मलम अझै नलागेको उल्लेख गर्दै दोषीलाई कारबाही भएको हेर्न चाहेको बताइन्।
“सदनमार्फत म प्रश्न गर्न चाहन्छु— निर्दोष जनतामाथि गोली चलाएर युवाहरूको सपना र भविष्यमाथि आक्रमण गर्ने दोषीलाई कहिले जेलमा देख्न पाइन्छ ?” उनले प्रश्न गरिन्।
उनले न्यायपालिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै न्यायालयमा शुद्धीकरण आवश्यक रहेको धारणा राखिन्।






























