नेपाललाई २ सय ४४ रनको चुनौती, सन्दीपको शानदार ४ विकेट

नेपाललाई २ सय ४४ रनको चुनौती, सन्दीपको शानदार ४ विकेट

काठमाडौँ वैशाख २९। आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २ सय ४४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको हो।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चिए। सन्दीपले स्कटल्यान्डको बलियो सुरुआतलाई तोड्दै नेपाललाई खेलमा फर्काउने महत्वपूर्ण भूमिका निभाए।

ओपनर जर्ज मुन्सेले आक्रामक ब्याटिङ गर्दै ७५ रन बनाए। उनले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरे। उनलाई २०.३ ओभरमा सन्दीप लामिछानेको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच लिएर आउट गरे।

त्यसपछि सन्दीपले सोही ओभरको अन्तिम बलमा अर्का ओपनर फिन्ले म्याकक्रेथलाई ३५ रनमा एलबीडब्लु आउट गर्दै नेपाललाई थप सफलता दिलाए।

ब्रान्डोन म्यकमुलेन ७ रनमा बोल्ड भए भने कप्तान रिची बेरिङटन ५ रनमै एलबीडब्लु धरापमा परे। दुवै विकेट सन्दीपले नै लिए।

नेपालका अर्का सफल बलर नन्दन यादव रहे। उनले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। उनले अन्तिम ओभरमा माइकल लिस्कलाई २९ रनमा बोल्ड आउट गरे भने ज्याक जार्भिसलाई शून्यमै पेभेलियन फर्काए।

करण केसीले पनि २ विकेट हात पारे। उनले ८ ओभरमा ५१ रन दिए। मार्क वाट २४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए भने म्याथु क्रस १८ रनमा आशिफ शेखबाट क्याच भए।

माइकल इलिंस ३४ रनमा अविजित रहे।

अब नेपालले जितका लागि ५० ओभरमा २ सय ४४ रनको लक्ष्य पछ्याउनेछ।

Tokha