परोपकारी अभियानमार्फत नेपालका बालबालिकाको हितमा योगदान
लिस्बन वैशाख २९। नेपाली स्वाद, संस्कृति र सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्दै चर्चित नेपाली सेफ टङ्क सापकोटाले पोर्चुगलमा विशेष अभियान सुरु गरेका छन्। पोर्चुगल आएको ३० वर्ष पूरा भएको अवसरमा उनले लिस्बनस्थित आफ्नो रेस्टुरेन्ट “कासा नेपालेसा” मार्फत नेपाली खानपान, कला र संस्कृतिको प्रवर्द्धनसँगै परोपकारी अभियानलाई अघि बढाएका हुन्।
आउँदो १२ महिनासम्म प्रत्येक महिनाको पहिलो बुधवार “कासा नेपालेसा” मा नेपालको हिमाल, पहाड र तराईका मौलिक परिकार समेटिएको विशेष मेनु प्रस्तुत गरिनेछ। कार्यक्रममा नेपाली परम्परागत संगीत र नृत्यसमेत समावेश गरिने भएको छ, जसले पोर्चुगलमा नेपाली संस्कृतिको जीवन्त झल्को दिने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्वका लागि परिचित सेफ सापकोटाले प्रत्येक साता निश्चित सिटबाट प्राप्त हुने आम्दानी एसओएस चिल्ड्रेन्स भिलेजेज पोर्चुगल र एसओएस चिल्ड्रेन्स भिलेजेज नेपाललाई प्रदान गर्ने घोषणा गरेका छन्। उक्त सहयोग अनाथ तथा संरक्षण आवश्यक रहेका बालबालिकाको हितमा प्रयोग गरिनेछ।
“यो वर्ष म पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ। यहाँ मैले परिवार बनाएँ, व्यवसाय विस्तार गरेँ र समुदायका लागि विभिन्न परियोजनामा काम गर्ने अवसर पाएँ,” सापकोटाले भने, “पोर्चुगाली जनताले नेपाल र नेपालीलाई दिएको माया तथा सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै जन्मभूमिको सानो भए पनि सेवा गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ।”
पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको “फोर्नो दि ओरो” रेस्टुरेन्ट युरोपका उत्कृष्ट ५० पिजेरियामध्ये १२औँ स्थानमा पर्न सफल भएको थियो। अन्तरराष्ट्रिय स्तरमा पहिचान बनाइसकेका उनले अहिले नेपाली मौलिक स्वादलाई विश्वसामु चिनाउने अभियानलाई अझ व्यापक बनाएका छन्।
६ मे २०२६ देखि सुरु भएको यो विशेष शृङ्खला मे ५, २०२७ सम्म सञ्चालन हुनेछ। प्रत्येक महिनाको पहिलो बुधवार आयोजना हुने विशेष च्यारिटी डिनरको शुल्क प्रतिव्यक्ति ६० युरो तोकिएको छ। कार्यक्रममा स्टार्टरदेखि डेजर्टसम्मका परिकारहरू नेपाली परम्परागत रेसिपीमा आधारित रहनेछन्।
विशेषगरी सापकोटाको गृह जिल्ला बागलुङको दामेकबाट ल्याइएको सिन्की लगायत नेपालबाट आयात गरिएका सामग्रीलाई पोर्चुगाली उत्पादनसँग संयोजन गरेर तयार गरिएका परिकारले पाहुनाहरूलाई नेपाली स्वादको अनौठो अनुभव दिलाएको छ।
गत बुधवार सुरु भएको कार्यक्रममा नेपालबाट पुगेका ६ जना कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। रात्रिभोजको बीचमा प्रत्यक्ष सांस्कृतिक प्रस्तुति, नेपाली तस्बिर प्रदर्शनी तथा मौलिक खानाका कारण कार्यक्रम थप आकर्षक बनेको थियो।
कार्यक्रममा पोर्चुगलका पूर्वअर्थमन्त्री तथा लिस्बनका पूर्वमेयर फर्नान्डो मेदिना, पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
राजदूत पौडेलले सेफ सापकोटाले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान उच्च बनाउनुका साथै नेपाली खाना, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। “उनले सुरु गरेको यो वर्षदिन लामो परोपकारी अभियान निकै प्रेरणादायी छ। यसले विदेशमा रहेका नेपाली उद्यमीलाई पनि मातृभूमिप्रति योगदान दिन प्रेरित गर्ने विश्वास लिएका छौँ,” उनले भने।
सन् १९९६ मा जर्मनी र इटाली हुँदै पोर्चुगल पुगेका सेफ सापकोटा आज अन्तरराष्ट्रिय रूपमा सम्मानित नेपाली सेफका रूपमा परिचित छन्। पाककला क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका उनले सामाजिक सेवा र समुदायप्रतिको उत्तरदायित्वलाई पनि निरन्तर अगाडि बढाउँदै आएका छन्।






























