नेपाली कम्युनिस्ट आन्दोलनको पुनरुत्थान सम्भव छ?

नेपाली कम्युनिस्ट आन्दोलनको पुनरुत्थान सम्भव छ?

नेपालको कम्युनिस्ट आन्दोलन आज इतिहासकै गम्भीर संकटबाट गुज्रिरहेको छ। संकट केवल चुनाव हार्नु वा सरकारबाट बाहिरिनु मात्र होइन; संकट आन्दोलनको आत्मा हराउनु हो, आन्दोलनको बैचारिक धरातल भत्किनु हो।

जुन आन्दोलनले कुनै वेला श्रमिक, किसान, सुकुम्बासी र उत्पीडित वर्गको मुक्ति सपना देख्थ्यो, त्यही आन्दोलन आज ठेक्का, दलाली, सत्ता र विदेशी प्रभावको चक्रव्युहमा कैद भएको छ। नाममा कम्युनिस्ट, व्यवहारमा सत्ताको व्यापारी। कम्युनिस्ट आन्दोलनको लागि यही आजको सबैभन्दा ठूलो विडम्बना बनेको छ।

एक समय थियो, नेपालका कम्युनिस्टहरू विचारका लागि मर्न डराउदैन थिए।जेल जान्थे, भूमिगत हुन्थे, राज्यका हरेक किसिमका दमन सहन्थे, तर विचार बेच्दैनथे। आज अवस्था उल्टिएको छ। अहिले धेरै कम्युनिस्ट नेताहरू क्रान्तिको भाषण गर्छन्, तर जीवनशैली सामन्ती छ; मजदुरको कुरा गर्छन्, तर राजनीति पूँजीपतिका लागि गर्छन्; राष्ट्रियताको नारा लगाउँछन्, तर निर्णय विदेशी शक्ति केन्द्रको संकेतमा लिन्छन्। यस्तो हुनु केवल वैचारिक विचलन मात्र नभएर, आन्दोलनको नैतिक अधोपतन हो।

सबैभन्दा खतरनाक कुरा त के भने नेपाली कम्युनिस्ट आन्दोलनभित्र “दलाल पूँजीवाद” ले संस्थागत रूप लिइसकेको छ। पार्टीहरू जनताको संगठन भन्दा सत्ता प्राप्तिका कम्पनी जस्ता बनेका छन्। कार्यकर्ता उत्पादन र श्रमसँग होइन, नेताको चाकडी र पहुँचसँग जोडिएका छन्। सिद्धान्तको अध्ययन संस्कृति गुट, अवसर र टिकटको राजनीतिमा परिवर्तन भएको छ। माक्र्स, लेनिन, माओ पुष्पलाल, मदनभण्डारी, मनोमोहनका नाम अब भाषण र कोटेशनमा मात्र बाँकी छन्। तर व्यवहार नवउदारवादी र सामन्त प्रकृतिको छ।यस्तो अवस्थामा जनताले प्रश्न गर्नु पनि स्वाभाविकै लाग्छ “यी कम्युनिस्ट हुन् कि कम्युनिस्टको भेषधारी नयाँ दलाल वर्ग?”

राष्ट्रियताको मुद्दामा पनि अवस्था फरक देखिदैन । राष्ट्रवाद चुनावी मौसमको नारामा सिमित बनेको छ। सत्ता बाहिर हुँदा विदेशी हस्तक्षेपको विरोध गर्ने, सत्ता पुगेपछि त्यही शक्तिसँग सम्झौता गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको विश्वसनीयता समाप्त गरेको छ। राष्ट्रिय स्वाभिमानका मूल मुद्धा आर्थिक आत्मनिर्भरता, उत्पादन वृद्धि र नीतिगत साहसले प्रमाणित हुन्छ। तर आज उत्पादनभन्दा आयात, श्रमभन्दा कमिशन, र आत्मनिर्भरताभन्दा वैदेशिक अनुदानमा राजनीति टिकेको छ। कम्युनिस्टहरुले स्वं यों दलदलमा फसेका छन्।

तर इतिहासले भन्छ,जनताको आन्दोलन कहिल्यै मर्दैन। विचार बेच्ने पात्रहरू हार्छन्, तर विचार कहिल्यै हार्दैन। त्यसैले नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरुत्थान सम्भव छ, तर अहिलेका सत्तामुखी यथास्थितिबाट होइन। पुनरुत्थान त्यतिबेला मात्र सम्भव हुन्छ, जब आन्दोलन फेरि श्रम, उत्पादन, वर्ग संघर्ष, राष्ट्रिय स्वाभिमान र जनताको वास्तविक जीवनसँग जोडिन्छ। जब तकम्युनिस्ट पार्टीको कार्यालय पाँचतारे होटलमा होइन, खेत, कारखाना, गाउँ र श्रमिक बस्तीमा सक्रिय हुन्छन्।

आजको आवश्यकता “कम्युनिस्ट” शब्द जोगाउने होइन, कम्युनिस्ट आन्दोलनको आत्मा जोगाउने हो। आजको आबस्यकता सँडेगलेको नेतृत्व जोगाउने, विचार पद्धती र निष्ठा जोगाउने हो।
यदि आन्दोलनले अब पनि आत्मालोचना गर्न हिम्मत गरेन,भ्रष्टाचार र दलालहरुसँग सम्बन्ध तोड्न सकेन भने जनताको विश्वास जित्ने कुनै आधार बाँकी रहने छैन। नेपालको कम्युनिस्टआन्दोलनले इतिहासको कठोर सजायबाट मुक्ति पाउने देखिदैन।
यदि इमानदार वैचारिक पुनर्जागरण भयो भने निःसन्देह नेपालमा कम्युनिस्ट आन्दोलन फेरि उठ्न सक्छ। जनताले नै काँधमा हालेर फेरि उचाल्नेछन्। अहिलेको समय निर्मम आत्मसमिक्षा र पुनरजागरित भएर बौरिने कि एकआपसमा झगडा गरेर सकिने कम्युनिस्टहरुकै हातमा छ।

Tokha