“नर्सले बिरामीको पीडा बुझ्नुपर्छ र भावनात्मक सम्बन्ध राख्नुपर्छ”: निस्ता खत्री,नर्स

“नर्सले बिरामीको पीडा बुझ्नुपर्छ र भावनात्मक सम्बन्ध राख्नुपर्छ”: निस्ता खत्री,नर्स

काठमाडौं  वैशाख २९। काठमाडौं क्यान्सर सेन्टरकी म्याट्रोन (नर्स प्रमुख) निस्ता खत्रीले नर्सिङ पेशा केवल उपचारमा सहयोग गर्ने काम मात्र नभई बिरामीको पीडा बुझ्ने र भावनात्मक रूपमा साथ दिने मानवीय जिम्मेवारी भएको बताएकी छन्।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले सफल नर्स बन्न सेवाभाव, धैर्यता, जिम्मेवारीबोध र मानवीय संवेदनशीलता अत्यन्त आवश्यक हुने बताइन्। उनका अनुसार नर्सले सबैभन्दा पहिले बिरामीको अवस्था र पीडा बुझ्न सक्नुपर्छ।

“बिरामीको समस्या के हो भन्ने कुरा पहिला बुझ्ने क्षमता नर्समा हुनुपर्छ,” उनले भनिन्, “नर्सको बोली र व्यवहार नरम, शान्त र सुमधुर हुनुपर्छ। कठोर व्यवहारले बिरामी झन् डराउने र असहज महसुस गर्ने गर्छन्।”

खत्रीका अनुसार नर्स र बिरामीबीच विश्वासपूर्ण सम्बन्ध अत्यन्त महत्वपूर्ण हुन्छ। बिरामीहरू धेरै कुरा सहज रूपमा बाहिर व्यक्त गर्न नसक्ने भएकाले नर्सले उनीहरूसँग आत्मीय र भरोसायुक्त सम्बन्ध निर्माण गर्नुपर्ने उनको भनाइ छ।

“बिरामीलाई आफ्नै मान्छेजस्तो व्यवहार गर्न सकियो भने मात्रै उनीहरू खुलेर आफ्नो समस्या भन्न सक्छन्,” उनले भनिन्।

उनले नर्समा जिम्मेवारीबोध र कार्यक्षेत्रको स्पष्ट ज्ञान हुनुपर्नेमा पनि जोड दिइन्। नबुझेको विषयमा लाज नमानी सिनियरसँग सिक्ने र सोध्ने बानी राम्रो नर्सको महत्वपूर्ण गुण भएको उनको अनुभव छ।

इमर्जेन्सी अवस्थालाई सम्हाल्न सक्ने आत्मविश्वास पनि नर्सिङ पेशाको महत्वपूर्ण पक्ष भएको खत्रीले बताइन्। “बिरामीको अवस्था कहिले सामान्य हुन्छ, कहिले गम्भीर बन्छ। यस्तो अवस्थामा नआत्तिएर जिम्मेवारीपूर्वक काम गर्न सक्ने क्षमता आवश्यक हुन्छ,” उनले भनिन्।

उनका अनुसार नर्सिङ शिक्षा नै व्यवहारिक र सेवामूलक हुन्छ। अध्ययनका क्रममा हुने अस्पताल पोस्टिङले विद्यार्थीलाई प्रत्यक्ष बिरामीसँग काम गर्ने अनुभव दिलाउने भएकाले पेशाप्रति गहिरो समझदारी विकास हुने गर्छ।

खत्रीले नर्स र बिरामीको सम्बन्ध केवल पेशागत सीमामा नरहने पनि बताइन्। “हाम्रो सम्बन्ध बिरामीसँग परिवारजस्तै हुन्छ। डिस्चार्ज भएपछि पनि धेरै बिरामी भेट्न आउनुहुन्छ,” उनले भनिन्।

उनले सम्पूर्ण नर्सहरूलाई सेवाभाव, धैर्यता र जिम्मेवारीका साथ काम गर्न आग्रह गर्दै नर्सिङ पेशा मानव सेवाको सबैभन्दा सम्मानित पेशामध्ये एक भएको उल्लेख गरिन्।

Tokha