काठमाडौं वैशाख २८/प्रतिनिधिसभाको सोमबारको बैठकमा खुस्बुले ओली ले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारको भूमिकामाथि कडा प्रश्न उठाएकी छन् ।
बैठकमा बोल्दै उनले सुकुम्बासी बस्ती व्यवस्थापन आवश्यक विषय भए पनि उचित विकल्प र व्यवस्थापनबिना डोजर चलाएर बस्ती तहसनहस पारिएको आरोप लगाइन् ।
उनले बस्ती हटाउने क्रममा विरोध बढेपछि मात्रै सरकार पछाडि हटेको र त्यसपछि दुईजना व्यक्तिले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिन् । ती घटनाप्रति सरकारले कुनै समवेदना नजनाएको भन्दै उनले सरकार जनसाधारणको पीडाबाट टाढिएको टिप्पणी गरिन् ।
उनले भनिन्, “सुकुम्बासी बस्तीको व्यवस्थापन पक्कै पनि जरुरी विषय थियो । तर उक्त बस्ती तहसनहस गरिसकेपछि मात्रै रास्वपाले आफैं सरकारलाई विन्ती बिसायो र भन्यो– अब डोजर रोकियोस् । जब रोकियो, तब दुईजना व्यक्ति आत्महत्या गर्न बाध्य भए । उहाँहरूको जीवन नै समाप्त हुँदासमेत सरकारले कुनै समवेदना प्रकट गरेको देखिएन ।”
ओलीले गरिब र भूमिहीन नागरिकको मृत्युलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै सरकार “भुईँमान्छेबाट टाढा” रहेको बताइन् ।
उनले पूर्वी क्षेत्रमा उचित पुनर्वास र व्यवस्थापनबिना गरिएको विस्थापनलाई नीतिगत मात्र नभई मानवीय संवेदनशीलताको गम्भीर असफलता भएको टिप्पणी गरिन् । साथै, उक्त घटनाको राजनीतिक र नैतिक जिम्मेवारी सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले लिनुपर्ने उनको भनाइ थियो ।






























