काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक यातायात सेवामा सुधार तथा यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै चालक तथा सहचालकका लागि सचेतना अभिवृद्धि तालिम सञ्चालन गर्ने भएको छ। उक्त तालिम जेठ महिनाको पहिलो सातामा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिका र सार्वजनिक यातायात व्यवसायीबीच आज बसेको संयुक्त बैठकले सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगरपालिकाका कर्मचारी तथा विभिन्न सार्वजनिक यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख मिठाराम अधिकारीले सार्वजनिक यातायात क्षेत्रलाई अनुशासित, व्यवस्थित र यात्रुमैत्री बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले चालक तथा सहचालकको व्यवहार, समयपालन, यात्रुप्रतिको जिम्मेवारी र सडक सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
उपप्रमुख अनिता लामाले चालक र सहचालक सभ्य तथा नैतिक रूपमा मर्यादित हुनुपर्नेमा जोड दिँदै सार्वजनिक यातायात सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसलाई आधुनिक र सुरक्षित बनाउनु अत्यावश्यक रहेको बताउनुभयो। उहाँले व्यवहारिक तथा अनुशासनसम्बन्धी तालिमले यात्रु सेवामा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्नुभयो।
बैठकले सार्वजनिक यातायात क्षेत्रमा सुधार ल्याउन विभिन्न योजनाहरू अघि बढाउने निर्णय गरेको छ। जसअनुसार यातायातका साधनमा जीपीएस (Global Positioning System – GPS) प्रणाली लागू गर्न पहल गरिने, स्मार्ट बसपार्क व्यवस्थापन गरिने, बस तथा माइक्रोबसमा सिसी क्यामेरा जडान गरिने, चालकका लागि निश्चित पोशाक निर्धारण गरिने तथा सार्वजनिक यातायातमा चेतनामूलक नाराहरू राखिने निर्णय गरिएको छ। साथै, चालक तथा सहचालकलाई मध्यपान तथा धूम्रपान नगर्न सुझाव दिने व्यवस्था पनि गरिनेछ।
त्यसैगरी बस तथा अन्य सार्वजनिक सवारीसाधनमा डिजिटल सूचना बोर्ड जडान गर्ने, यातायात दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय बढाउने, समय व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आर्थिक उन्नतिका विषयमा विशेष जोड दिने नगरपालिकाले जनाएको छ।
बैठकका क्रममा यातायात व्यवसायीहरूले पार्किङ व्यवस्थापन, विभिन्न क्षेत्रमा यातायात सहकार्य तथा समन्वय अभिवृद्धि लगायतका समस्या तथा सुझावहरू प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा प्रशिक्षक क्षितिज कार्कीले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उपाय, डिजिटल प्रविधिको प्रयोग, आर्थिक व्यवस्थापन तथा संस्थागत विकाससम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो।
नगरपालिकाले सञ्चालन गर्न लागेको उक्त तालिमले सार्वजनिक यातायात क्षेत्रमा अनुशासन, प्रविधिको प्रयोग तथा यात्रु सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
































