काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले महिलाहरूमा रजोनिवृत्ति (मेनोपज) सम्बन्धी सचेतना अभिवृद्धि गर्न लक्षित कार्यक्रम सञ्चालन गरेको छ । ४५ देखि ५५ वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गर्दै नगरपालिकाले सचेतना अभिमुखीकरण कार्यक्रम आयोजना गरिरहेको छ ।
नगरपालिकाका अनुसार रजोनिवृत्ति महिलाको जीवनचक्रमा आउने एक प्राकृतिक अवस्था भए पनि यसबारे पर्याप्त जानकारी र सचेतना अभाव रहेको छ। मासिक स्राव (रजस्वला) बारे महिलाहरूमा जागरूकता बढ्दै गए पनि रजोनिवृत्तिप्रति भने अझै ध्यान पुग्न नसकेको बताइएको छ। रजस्वला सुक्दै जाने प्रक्रिया नै रजोनिवृत्ति हो, जुन सामान्यतया ४५ देखि ५०/५५ वर्ष उमेरभित्र हुने गर्दछ। यस क्रममा केही महिलाहरूले लामो समयसम्म शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने अवस्था पनि देखिन्छ।
मेनोपजका क्रममा शारीरिक, मानसिक तथा हार्मोनल परिवर्तनहरू देखापर्ने गर्छन्। तस्विरमा समेटिएअनुसार हॉट फ्ल्यास, रातमा पसिना आउने, थकान, कमजोरी, यौनाङ्ग सुख्खापन, स्तनमा दुखाइ जस्ता शारीरिक लक्षणहरू देखिन्छन्। त्यस्तै मानसिक तथा भावनात्मक रूपमा मुड स्विङ, झर्को लाग्ने, चिन्ता, तनाव, एकाग्रतामा कमी तथा स्मरणशक्ति कमजोर हुने समस्या देखिन सक्छ। साथै, मुटुको धड्कन बढ्ने, हड्डी कमजोर हुने, तौल बढ्ने वा मेटाबोलिज्म घट्ने र निद्रा नलाग्ने जस्ता शारीरिक प्रणालीमा परिवर्तनहरू पनि देखापर्न सक्छन्।

नगरपालिकाले यस्तो अवस्थामा समयमै चिकित्सकको सल्लाह, नियमित स्वास्थ्य निगरानी, मनोपरामर्श तथा सकारात्मक सोच अत्यन्त आवश्यक हुने जनाएको छ। यही उद्देश्यका साथ बुढानीलकण्ठ नगरपालिकाले समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको हो।
उक्त कार्यक्रम भोलि वैशाख १६ गते दिउँसो २ बजे कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयमा सञ्चालन हुने जनाइएको छ। नगरपालिकाले लक्षित उमेर समूहका दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन वा आफ्ना परिवारबाट सहभागी गराउन अनुरोध गरेको छ।
नगरपालिकाले यो कार्यक्रम चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमै समावेश गरी कार्यान्वयन गर्न लागेको हो। यस कार्यक्रममार्फत महिलाहरूमा रजोनिवृत्ति सम्बन्धी ज्ञान अभिवृद्धि, स्वास्थ्य सचेतना विस्तार तथा जीवनशैली सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
































