कुशल भुर्तेलको विस्फोटक इनिङ्स: नेपालले युएईलाई सहजै हरायो

कुशल भुर्तेलको विस्फोटक इनिङ्स: नेपालले युएईलाई सहजै हरायो

काठमाडौं  २०८३ वैशाख ९। नेपालले संयुक्त अरब इमिरेट्स (युएई) राष्ट्रिय क्रिकेट टोलीलाई ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेल नायक बने। उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले। कुशल मल्लले १९ रन जोड्दा सन्तोष यादव १ रनमा आउट भए। कप्तान दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।

युएईका लागि निलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। युएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र अरफानले ३२ रनको योगदान दिए।

नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए।

यससँगै दुई खेलको सिरिजमा दुवै टोलीले एक–एक खेल जित्दै सिरिज बराबरीमा सकिएको छ। पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

Tokha