बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं

बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं

काठमाडौं  २०८३ वैशाख ९ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट ऋण लिएर जनताको सेवा गर्दा पनि आफूहरूलाई ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई सेवा दिँदा पनि आफूहरूलाई अन्यायपूर्ण रूपमा माफिया भनिएको दाबी गरे। राज्यले आफूहरूप्रति विभेद गरेको उनको आरोप छ।

“बैंकबाट लोन लिएर हामीले जनताका लागि बस्ने ठाउँ बनाएका छौं, जनताकै सेवा गरेका छौं तर हामीलाई नै माफिया भनिएको छ। राज्यले विभेद गरेको छ,” उनले भने।

सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईंले शिक्षा र स्वास्थ्यलाई निःशुल्क नभई जनताले किन्न सक्ने हैसियतको बनाउनुपर्ने धारणा व्यक्त गरे।

उनले भने, “सरकारमा रहेकाहरूले स्वास्थ्य र शिक्षा निःशुल्क भन्छन्। हामी भने स्वास्थ्य र शिक्षा निःशुल्क होइन, किन्न सक्ने हैसियतको हुनुपर्छ भन्छौं।”

साथै, उनले नेपालको ‘डिप स्टेट’मा १६ जना मारवाडी र १० जना नेपाली रहेको दाबी गर्दै उक्त संरचनालाई नियन्त्रण नगर्दासम्म अर्थतन्त्र सुदृढ नहुने बताए।

‘डिप स्टेट’लाई नियन्त्रण गर्न नसक्दा अर्थतन्त्र कमजोर हुने बताउँदै उनले उक्त सूचीमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह पनि गरे।

Tokha