काठमाडौँ, १५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति मधेस प्रदेशका मतदातामा तुलनात्मक रूपमा बढी उत्साह देखिएको पाइएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार विगतको तुलनामा मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदातामा आगामी निर्वाचनप्रति उत्साह देखिएको उल्लेख छ ।
जियोकका महासचिव कृष्णमान प्रधानका अनुसार भदौ २३ गते भएको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले यसपटकको चुनावलाई विगतभन्दा भिन्न र विशिष्ट रूपमा हेरिएको छ । सोही प्रदेशमा निर्वाचनप्रति ७९.२ प्रतिशत मतदाताले विश्वास व्यक्त गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
करिब १०० जना मतदातामा गरिएको सर्वेक्षणमा सहभागी अधिकांश मतदाता यही फागुन २१ गते हुने निर्वाचनबारे सचेत रहेको उल्लेख छ । प्रतिवेदनअनुसार ३४ प्रतिशत मतदाता राजनीतिक शक्तिबाट उच्च प्रभावित देखिएका छन् भने ५० प्रतिशतमा मध्यम प्रभाव परेको पाइएको छ । जेनजी आन्दोलनको प्रभावले यसपटकको चुनावी नतिजामा केही फेरबदल ल्याउन सक्ने अनुमान पनि गरिएको छ ।
निर्वाचनको सफलतामा शान्ति तथा सुरक्षालाई चुनौतीका रूपमा पहिचान गरिए पनि पछिल्लो समय विकसित चुनावी वातावरण सकारात्मक बन्दै गएको जियोकले जनाएको छ । यद्यपि राजनीतिक दलका कार्यकर्ताबीच हुनसक्ने विवादले केही स्थानमा छिटफुट सुरक्षा चुनौती निम्तन सक्ने औँल्याइएको छ ।
सर्वेक्षणमा सहभागी २१ प्रतिशत मतदाताले आफ्नो मतनिर्णयमा सामाजिक सञ्जालको प्रभाव रहेको स्वीकार गरेका छन् । लैङ्गिक आधारमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला प्रभावित देखिएका छन् । नवयुवा पुस्ता सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी बनाउन पैसा र पहुँचको दुरुपयोगलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ । साथै, भ्रामक सूचनाको प्रभाव न्यूनीकरण गर्न समयमै सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
जियोकले चुनावको मिति नजिकिँदै जाँदा आवश्यक वातावरण निर्माण भएको, मतदातामा उत्साह बढेको तथा नयाँ राजनीतिक शक्तिको उदय संकेत देखिएको निष्कर्ष निकालेको छ ।
































