कामपाका १० वडाका ५०९ स्थानको प्राचीन नाम यकिन

कामपाका १० वडाका ५०९ स्थानको प्राचीन नाम यकिन

काठमाडौँ, १५ फागुन । काठमाडौँ महानगरपालिका ले महानगरका १० वटा वडाभित्रका ५०९ स्थानको प्राचीन तथा मौलिक नाम यकिन गरेको जनाएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र सँगको सहकार्यमा दुई चरणमा गरेको अध्ययनबाट ४३० मूल नाम र ७९ सहायक नाम पहिचान गरिएको विभाग प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।

तेस्रो चरणमा थप आठ वडाका बस्ती तथा स्थानको मौलिक नाम अध्ययन गरिने भएको छ । यसका लागि सम्पन्न सम्झौतामा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको रोहबरमा विभाग प्रमुख राई र केन्द्रका कार्यकारी निर्देशक रिजा जोशीले हस्ताक्षर गर्नुभएको छ । तेस्रो चरणमा वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ मा अध्ययन गरिने जनाइएको छ ।

सम्झौता कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले नाम केवल बोलाउन प्रयोग हुने शब्द मात्र नभई इतिहास, संस्कृति, सभ्यता र समाजसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । परिचय पाटी राख्दा दृश्य प्रदूषण नहुने र उपयुक्त स्थानमा राख्नुपर्ने उहाँको भनाइ थियो ।

विभाग प्रमुख राईका अनुसार पहिलो चरणमा वडा नं ५, ६, ७, १८ र २४ तथा दोस्रो चरणमा वडा नं ८, १७, १९, २० र २५ मा अध्ययन सम्पन्न भइसकेको छ । अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका टोल, बस्ती, मठमन्दिर, वहाल, धारा, सत्तल र पाटीहरूको अभिलेखीकरण गरी प्राचीन नाम पहिचान गरिएको हो ।

पहिचान गरिएका नाम स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग पुष्टि गरिने विभागले जनाएको छ ।

Tokha