निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण र सेवनमा रोक

निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण र सेवनमा रोक

काठमाडौँ, १५ फागुन । निर्वाचन आयोग ले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार उक्त प्रतिबन्ध लागू गरेको जनाएको छ ।

सुरक्षाको समग्र अवस्थाको समीक्षा गर्दै आयोगले गृह मन्त्रालय लाई आवश्यक निर्देशन दिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीत गतिविधि हुन नदिन तथा उल्लङ्घन भएमा तत्काल कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सचेत गराइएको छ ।

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालनमा रहनेछन् । एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत् तथा खानेपानी मर्मत, दूरसञ्चार सेवा, कूटनीतिक नियोग र पास प्राप्त सवारीसाधनलाई आवतजावतमा छुट दिइनेछ । सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइने आयोगले जनाएको छ ।

Tokha