काठमाडौँ, १४ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा ८७ वटा स्पष्टीकरण सोधिएकामा हालसम्म ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीका आधारमा ८१ जनालाई लिखित स्पष्टीकरण सोधिएको छ भने छ जनालाई पुनः स्पष्टीकरण माग गरिएको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग स्पष्टीकरण माग गरिएको आयोगले जनाएको छ।
दर्ता भएका सञ्चारमाध्यम तथा तिनमा आवद्ध पत्रकारको हकमा भने कारबाहीका लागि प्रेस काउन्सिल नेपालमार्फत प्रक्रिया अघि बढाइएको छ। निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरी निश्चित दल वा उम्मेदवार विजयी हुने दाबी गर्दै सामग्री प्रकाशन गरेको सेतोपाटीलाई पनि प्रेस काउन्सिलमार्फत नै स्पष्टीकरण सोधिएको छ।
जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भई आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाइएको छ। प्राप्त ५४ वटा जवाफ अध्ययनाधीन रहेको आयोगले जनाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको आयोगको भनाइ छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको छ।
जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य तीव्र रूपमा भइरहेको आयोगले जनाएको छ।
जिल्लामा प्राप्त उजुरीका आधारमा सम्बन्धित पक्षसँग स्पष्टीकरण मागी दोषी देखिएकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ।
































