काठमाडौँ, १५ फागुन : गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ।
दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको आजको निरीक्षण र अनुगमनका क्रममा उहाँले विगतका कमजोरी सच्याएर यसपटकको निर्वाचन धाँधलिरहित र निष्पक्ष हुने जानकारी दिनुभयो।
मन्त्री अर्यालले सम्बन्धित अधिकारीहरूलाई निर्धक्क र शान्तिपूर्वक मतदान वातावरण बनाउन निर्देशनसमेत दिनुभयो।
उहाँले सामाजिक सञ्जालमा फैलिने गलत, मिथ्या वा दुष्प्रचारका समाचारबाट सचेत हुन र आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सबै पक्षलाई आग्रह गर्नुभयो।
आज बिहान गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाका मतदान केन्द्र अनुगमन गरी निर्वाचन सुरक्षाबारे छलफलसमेत गरेको थियो।
अनुगमन टोलीमा सहभागीहरू:
-
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल
-
नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङ्ग केसी
-
प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर
-
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले
-
सह–प्रवक्ता रमा आचार्य
-
प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट
-
प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने
-
दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे
-
बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा
सह–प्रवक्ता आचार्यका अनुसार छलफलमा विगत निर्वाचनको अनुभव, प्रतिनिधिसभा निर्वाचन सुरक्षा योजना, र सम्भावित समस्याको पहिचानबारे जानकारी दिइएको थियो। विगतका संवेदनशील मतदान केन्द्रमा सुरक्षा कडाइ गरिएको जानकारी पनि साझा भयो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सर्वसाधारण, सुरक्षा निकाय र सरोकारवाला सबैको सक्रिय सहभागितामा निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न आग्रह गर्नुभयो।
प्रमुख निर्वाचन अधिकृत न्यौपानेले सुरक्षा निकायबीच समन्वय भइरहेको र विगतका अवरोधकर्ताहरूको निगरानी बढाइएको जानकारी दिनुभयो।
बैतेश्वर गाउँपालिकामा ८ मतदानस्थल, २१ मतदान केन्द्र, र मतदाता संख्या १८,४२२ रहेको छ। यस क्षेत्रमा विगतमा ९०–९५ प्रतिशत मत खसेको तथ्यांक छ।
































