काठमाडौँ, १४ फागुन : निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारी), कूटनीतिक नियोगका सवारीसाधन तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
बैठकले मतदानको मितिभन्दा सात दिनअघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ। ७७ वटै जिल्लामा उक्त प्रतिबन्ध कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेधित कार्य हुन नदिन र उल्लङ्घन भए तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक मार्गदर्शन तथा सिफारिससमेत गरेको छ।
फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत् सञ्चालन हुनेछन्। टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म तथा घर वा होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न अनुमति दिइनेछ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमानाका बन्द गर्ने व्यवस्था मिलाउन पनि गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ को दफा ४३ तथा ८४ अनुसार मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा लिएर जानुपर्ने व्यवस्था छ।
सो सम्बन्धमा सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना सम्प्रेषण गर्न निर्देशन दिइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष इकाई स्थापना गरिनेछ।
उक्त इकाईमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका दुई–दुई जना कर्मचारी खटाइनेछन्। आयोगले निर्णय कार्यान्वयनमा सहजीकरण र समन्वय गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

































