डुम्रे (तनहुँ), १३ फागुन:
‘सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ नाराका साथ सन् २०२६ लाई तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्षका रूपमा विविध कार्यक्रम गरी मनाउने तयारी गरिएको छ।
आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा यस वर्ष तमु भाषा, साहित्य, कला र संस्कृति वर्ष २०२६ मनाइँदैछ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भविष्यमा सांस्कृतिक अभियन्ता र विज्ञ जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले तमु ह्यूल छोंज धिं तथा शैक्षिक संस्थासँग सहकार्य गरी समुदायको सङ्गठनशीलता र एकताको सन्देश प्रवाह गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार क्याम्पस र तमु समुदायको संयुक्त प्रयासले मात्र सन् २०२६ लाई सफल ‘तमु भाषा र संस्कृति वर्ष’ बनाउन सकिन्छ।
जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले भाषा मरे संस्कृति मर्ने भएकाले नयाँ पुस्ताले खेगी, पच्यु र क्ल्हेप्री जस्ता परम्परा जोगाउन गुरुङ (तमु) भाषाको ज्ञान अनिवार्य भएको उल्लेख गर्नुभयो। “आफ्नो मातृभाषा बोल्न लाज होइन, गर्व गर्नुपर्छ,” उहाँले भन्नुभयो, “भाषा बाँचे मात्र हाम्रो इतिहास र पहिचान बाँच्छ।”
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सांस्कृतिक मौलिकता नै हाम्रो शक्ति भएको बताउँदै क्याम्पसको नारालाई आत्मसात् गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले रैथाने ज्ञान र सीपलाई आधुनिक प्रविधिसँग जोडेर नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो।
सम्पदा नेपालका अध्यक्ष तथा पर्यटनविज्ञ हरिसिं गुरुङले गुरुङ समुदायका रोधी, घाँटु, सोरठी र कृष्णचरित्र नाच जस्ता सांस्कृतिक अभ्यास सभ्यताको अभिन्न अङ्ग भएकाले तिनको संरक्षण आवश्यक रहेको बताउनुभयो।
तमु विद्यार्थी सहयोग समूहका अध्यक्ष रोहन गुरुङका अनुसार आँबुखैरेनी, देवघाट र व्यास नगरपालिकाका १०० भन्दा बढी तमु विद्यार्थी तथा अगुवासँग समन्वय गरी वार्षिक कार्ययोजना तयार गरिएको छ।
देवघाट गाउँपालिकाकी छात्रा रिया गुरुङले नयाँ पुस्तामा भाषा, साहित्य, कला र संस्कृतिको पुस्तान्तरण अपरिहार्य भएको बताउँदै यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच, क्याम्पसले आदिवासी जनजातिको भाषा तथा संस्कृति संरक्षण तथा विकास समितिमार्फत सन् २०२६ लाई गुरुङ (तमु) भाषा, साहित्य, कला र संस्कृति वर्षका रूपमा घोषणा गरेको जनाएको छ।



































