भक्तपुर, १३ फागुन:
भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्ग झुण्ड्याएर प्रदर्शनीमा राख्दै चीर स्वायगू (चीर गाड्ने)सँगै फागु (होली) पर्व सुरु गरिएको छ।
फागुन शुक्ल अष्टमीका दिन काठको मुढाबाट बनेको करिब तीन हात लामो र ३० इञ्च गोलाइको लिङ्गलाई कमलपोखरीमा पखालेर सफा गरी नगर परिक्रमा गराउने प्रचलन छ। पूर्णिमाको साँझ उक्त लिङ्गलाई ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पुनः पखाल्ने परम्परा रहेको छ। यसरी लिङ्ग बोकेर पखाल्नेलाई पुत्रलाभ हुने जनविश्वास छ।
कमलपोखरीबाट ल्याएपछि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै दत्तात्रय क्षेत्र वरपरका घर–पसलमा परिक्रमा गराइन्छ। घर तथा पसलमा पूजाआजा र दर्शन गर्नाले व्यापार–व्यवसायमा उन्नति हुने विश्वास गरिन्छ।
भीमसेन गुठीका गाइजुहरूले परम्परागत नेवारी भाकामा यौनरसयुक्त गीत गाउँदै नगर परिक्रमा गराउने चलन छ। लिङ्गसँगै रातो कपडामा प्वाल बनाई प्रतीकात्मक रूपमा यौन समागमको दृश्य झल्कने गरी सजावट गरिन्छ, जसलाई भीमसेन र द्रौपदीको प्रतीकात्मक मिलनका रूपमा लिने गरिएको संस्कृतिकर्मीहरूले बताएका छन्।
संस्कृतिकर्मीका अनुसार वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व सृष्टि, उर्वरता र शिव–शक्ति मिलनको प्रतीकका रूपमा लिइन्छ। ऐतिहासिक रूपमा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गराएको दत्तात्रय मन्दिरसँगै यो परम्परा चल्दै आएको विश्वास गरिन्छ।
फागुपूर्णिमाको साँझ पुनः लिङ्गलाई ब्रह्मायणी क्षेत्रमा पखालेर मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व समापन हुने परम्परा छ।



































