निर्वाचन आचारसंहिता उल्लङ्घन: ८५ जनासँग स्पष्टीकरण, ५४ वटाको जवाफ प्राप्त

निर्वाचन आचारसंहिता उल्लङ्घन: ८५ जनासँग स्पष्टीकरण, ५४ वटाको जवाफ प्राप्त

काठमाडौँ, ११ फागुन : निर्वाचन आयोग अन्तर्गतको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ८५ उजुरी प्राप्त भएका छन्। ती उजुरीका आधारमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूसँग स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार हालसम्म ७९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग समेत स्पष्टीकरण मागिएको हो। दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण तथा कारबाहीका लागि लेखी पठाइएको छ। निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण प्रकाशित गरी दल वा उम्मेदवार विशेष निर्वाचित हुने दाबी गरिएको समाचार सामग्री प्रकाशन गरेको भन्दै सेतोपाटी अनलाइनलाई पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको जनाइएको छ। जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनविरुद्ध उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगले जनाएको छ। प्राप्त ५४ वटा जवाफको अध्ययन प्रक्रिया जारी रहेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रहेका छन्। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषय र प्रमुख कोष नियन्त्रक/कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ। जिल्लास्तरमा प्राप्त उजुरीका सम्बन्धमा त्यहीँबाट स्पष्टीकरण मागी दोषी देखिएकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको पनि आयोगले स्पष्ट पारेको छ।

Tokha