मकवानपुर जिल्लामा मत बदर दर घटाउन ११५ स्वयंसेवक परिचालन
मकवानपुर जिल्लामा मत बदर दर घटाउन ११५ स्वयंसेवक परिचालन
बागमती, ११ फागुन: यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा मत बदर दर घटाउने उद्देश्यले ११५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। जिल्लाका १० वटै पालिकाका १०५ वडामा एक–एक जनाका दरले १०५ स्वयंसेवक तथा प्रत्येक पालिकामा एक–एक जनाका दरले १० जना अनुगमनकर्ता खटाइएको हो। बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार स्वयंसेवकहरूले गाउँ–टोल र घरदैलो कार्यक्रममार्फत निर्वाचन प्रक्रिया, मतदान गर्ने सही तरिका, मतपत्रमा स्वस्तिक छाप लगाएपछि बदर नहुने गरी कसरी मोड्ने र मतपेटिकामा खसाल्ने भन्ने विषयमा जानकारी दिइरहेका छन्। फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममा महिला स्वयंसेविका, मातृ शिक्षा कार्यकर्ता र बालविकास सहजकर्तालाई तालिम दिएर परिचालन गरिएको जनाइएको छ। ३ हजारभन्दा बढी कर्मचारी नियुक्ति सुरु प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा खटिने ३ हजार ३६६ कर्मचारीलाई आजदेखि नियुक्ति दिन थालिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट दुवै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा कर्मचारी खटाइनेछ। जिल्लाका ३७४ मतदान केन्द्रमा प्रत्येक केन्द्रमा ६ जनाका दरले २ हजार २४४ कर्मचारी र १ हजार १२२ स्वयंसेवक परिचालन गरिने छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक सहयोगी कर्मचारी रहने व्यवस्था गरिएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि फागुन १२ देखि १४ गतेसम्म हेटौँडामा प्रशिक्षण सञ्चालन गरिने तयारी छ। प्रशिक्षणपछि फागुन १६ गतेदेखि कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रमा खटिनेछन्। १९ मतदानस्थल अतिसंवेदनशील सूचीमा जिल्लाका १६७ मतदानस्थलमध्ये १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ६ स्थानीय तहका १९ मतदानस्थललाई उच्च सुरक्षा निगरानीमा राखिएको हो। तीमध्ये बकैयाँ गाउँपालिकाका पाँच, राक्सिराङका छ, बागमतीका पाँच, भीमफेदी, मनहरी र कैलाशका एक–एक मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्। ६० मतदानस्थल संवेदनशील र ८८ मतदानस्थल सामान्य सूचीमा राखिएका छन्। यसपटक मकवानपुरमा १६७ मतदानस्थलअन्तर्गत ३७४ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा एक लाख ६१ हजार ९५३ पुरुष र एक लाख ५३ हजार ३७६ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।