सियोलमा नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफे सम्मानित

सियोलमा नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफे सम्मानित

काठमाडौँ, ११ फागुन : दक्षिण कोरियामा रहेका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्मान गरिएको छ। कोरिया कन्जुमर ग्लोबल काउन्सिल द्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफे सहित पेरु र किर्गिस्तानका राजदूत सम्मानित हुनुभएको हो। त्यहाँस्थित नेपाली दूतावासका अनुसार कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यावसायिक प्रतिनिधि तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। राजदूत डा. तुम्बाहाङफेले उक्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई दक्षिण कोरियामा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सम्पूर्ण नेपाली समुदायको सम्मान भएको बताउनुभयो। उहाँले यस सम्मानले नेपाल र कोरियाबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। राजदूत तुम्बाहाङफेले नेपाल–दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीच निरन्तर सहयोग, सहकार्य र मित्रतापूर्ण सम्बन्ध कायम रहेको जानकारी गराउनुभयो। आगामी दिनमा पनि आर्थिक, सामाजिक, सांस्कृतिक तथा श्रम सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाहरू विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा अन्य दुई देशका राजदूतहरूलाई पनि उपभोक्ता हित, अन्तरराष्ट्रिय सहकार्य तथा आपसी सम्बन्ध प्रवर्द्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

Tokha