काठमाडौँ, ११ फागुन:पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग बाट त्रिशूली नदीमा खसेको हो। सशस्त्र प्रहरी बल नेपाल का प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म दुर्घटनास्थलबाट १७ जनाको शव निकालिएको छ। घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ। मृतक तथा घाइतेको सनाखत हुन बाँकी रहेको जनाइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा उद्धार कार्य जारी छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा टोली खटिएको छ भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको प्रवक्ता भट्टले जानकारी दिनुभयो।