मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ। बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले प्रशिक्षणको उद्घाटन गर्दै अपेक्षा नगरेको समयमा निर्वाचनमा सहभागी हुनुपर्ने भएकाले तनाव व्यवस्थापनमा दक्ष हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “निर्वाचनलाई तनावका रुपमा लिन हुँदैन। यसलाई तनावका रुपमा लिँदा कठिनाइ आउन सक्छ। त्यसैले तनावको व्यवस्थापन गर्न सिक्नुपर्छ, जान्नुपर्छ र गर्नुपर्छ।” उहाँले हरेक बोली, बचन र व्यवहारले ठूलो असर पार्न सक्ने भएकाले सावधानी अपनाउनुपर्नेमा पनि सचेत गराउनुभयो। मतदान केन्द्रमा आउने अशक्त वा लामो समय उभिन नसक्ने मतदाताका लागि स्थानीय तहसँग समन्वय गरेर टेन्टको व्यवस्था गर्न आग्रह गरिएको छ। मुख्य निर्वाचन अधिकृत दाहालले भन्नुभयो, “आचरण र अनुशासन नियन्त्रणमा राख्ने जिम्मा तपाईंहरुको हातमा छ। मतदान केन्द्रमा निर्वाचन कसुर भए विभागीय कारबाही गरिनेछ।” बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतदान अधिकृत र सहायक अधिकृतले निर्वाचन आचारसंहिता पालन गरिरहेका छन् कि छैनन् निगरानीमा रहेको जानकारी दिनुभयो। अनुपस्थित मतदाताको मतदान प्रयास हुँदा सावधानी अपनाउन र कार्यविधि अनुसार कडाइ गर्न निर्देशन दिइएको छ। उहाँले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएको र मतदानस्थलमा वातावरण निर्माण गर्न स्थानीय तहको स्रोतसाधन प्रयोग गर्न आग्रह गर्नुभयो। जिल्लामा तीन निर्वाचन क्षेत्रमा ४०३ मतदान केन्द्र रहेका छन्। यी मतदान केन्द्रमा ८०० मतदान अधिकृत र सहायक मतदान अधिकृत परिचालित हुने बताइएको छ। फागुन १४ गतेसम्म चरणबद्ध प्रशिक्षण र नमूना मतदान अभ्यास हुँदैछ, जसमा १६० जना मतदान अधिकृत सहभागी भएका छन्, जानकारी जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले दिनुभयो।

Tokha