“फाइनलमा विजयी सहारा: १२ वर्षपछि रारा गोल्डकपमा चम्कियो क्लबको गौरव”
“फाइनलमा विजयी सहारा: १२ वर्षपछि रारा गोल्डकपमा चम्कियो क्लबको गौरव”
पोखरा १० फागुन: १२ वर्षको प्रतीक्षापछि आयोजक सहारा क्लब पोखरा ले २५औँ आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक पुनरागमन गरेको छ। पोखरा रंगशालामा सम्पन्न फाइनलमा ए डिभिजन टोली जावलाखेल युथ क्लब लाई २–० ले पराजित गर्दै सहाराले घरेलु मैदानमै च्याम्पियन बन्ने गौरव हासिल गर्यो। सहाराले यसअघि २०७० सालमा उपाधि जितेको थियो। खेलको २५औँ मिनेटमा मुकुन्द कुमार निउरेले गोल गर्दै सहारालाई अग्रता दिलाए। सुशील लामाको कर्नर किकमा आएको बललाई उनले आकर्षक हेडरमार्फत जाल चुमाए। ७३औँ मिनेटमा डेनिएल बादारुले अर्को गोल थप्दै सहाराको जित सुनिश्चित गरे। विजेता सहाराले ट्रफीसहित रु १४ लाख १ हजार प्राप्त गर्यो भने उपविजेता जावलाखेलले रु ७ लाख १ हजार मा चित्त बुझायो। माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित कुल १२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका उत्कृष्ट खेलाडी सर्वोत्कृष्ट खेलाडी – मुकुन्द कुमार निउरे (सहारा) – टेल्जीको इलेक्ट्रिक स्कुटर सर्वाधिक गोलकर्ता – पापा आइवौ केवे (प्लानिङ ब्वाइज युनाइटेड) – ३ गोल उत्कृष्ट गोलकिपर – टिकेन्द्र थापा (सहारा) उत्कृष्ट डिफेन्डर – डाए डानियल (सहारा) उत्कृष्ट मिडफिल्डर – बौबोकार शिसोको (जावलाखेल) उत्कृष्ट फरवार्ड – धरवेन्द्र कुँवर (जावलाखेल) उत्कृष्ट प्रशिक्षक – सुनिल राना मगर (सहारा) फेयर प्ले टिम – आभा एफसी, उज्वेकिस्तान वर्ष उदियमान खेलाडी – मुकुन्द कुमार निउरे (सहारा क्लब) उत्कृष्ट विधातर्फका सबै विजेताले जनही रु २५ हजार प्राप्त गरेका छन्। १२ वर्षपछि उपाधि उचाल्दै सहाराले आफ्नो गौरवपूर्ण इतिहास पुनर्जीवित गरेको छ, जसले पोखरेली फुटबलप्रेमीमा नयाँ ऊर्जा थपेको छ।