काठमाडौँ, ८ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज जारी गरेको विज्ञप्तिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी गरिएको तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै भएको उक्त घटनालाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरिएको छ। एमालेले लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै राजनीतिक असहमति अभिव्यक्त गर्नुपर्नेमा हिंसात्मक तथा उत्तेजनात्मक गतिविधि अस्वीकार्य हुने जनाएको छ।