सुशीला कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
सुशीला कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
मुस्ताङ, ८ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुक्तिनाथ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धारामा जलसेचन गरी मन्दिरमा पूजा–आराधना गर्नुभएको हो। मन्दिर दर्शनका क्रममा उहाँलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल तथा मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गर्नुभएको थियो। मन्दिरतर्फ करिब २०० मिटर उकालो हिँड्दै जाँदा प्रधानमन्त्री कार्कीले स्वदेशी तथा विदेशी दर्शनार्थी र पर्यटकसँग भलाकुसारीसमेत गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो। सो अवसरमा गाउँपालिका अध्यक्ष गुरुङ र विकास समितिका व्यवस्थापक भुसालले मुक्तिनाथ मन्दिर क्षेत्रमा भक्तजनले भोग्नुपरेका समस्या तथा आवश्यक पूर्वाधार निर्माणबारे जानकारी गराउनुभएको थियो। विकास समितिका उपाध्यक्ष गुरुङका अनुसार दर्शनार्थीमैत्री पूर्वाधार निर्माणका लागि चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायत आठवटा योजना पुरातत्व विभागमा पेस गरिएको भए पनि स्वीकृतिमा ढिलाइ भइरहेको छ। “फाइल पेस गरिसकेका छौँ, तर स्वीकृति नहुँदा काम अघि बढाउन सकिएको छैन,” उहाँले बताउनुभयो। जवाफमा प्रधानमन्त्री कार्कीले पुरातत्व विभागका महानिर्देशकसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको व्यवस्थापक भुसालले जानकारी दिनुभयो। मुक्तिनाथमा करिब एक घण्टा समय बिताएपछि प्रधानमन्त्री कार्की नेपाली सेनाको हेलिकोप्टरमार्फत जोमसोमस्थित इन्द्रबक्स गणतर्फ प्रस्थान गर्नुभएको थियो।